भारतसँग ‘डे अहेड’ र ‘टर्म अहेड’ बजारमा विद्युत् व्यापार

तस्बिरः एजेन्सी

काठमाडौं । नेपालले भारतसँग डे अहेड (भोलिको लागि आज किन्न वा बेच्न बुक गर्ने) र टर्म अहेड (केही दिनपछिका लागि बुक गर्ने) बजारमा विद्युत् व्यापार गर्ने भएको छ । यसका लागि भारतको सरकारी निकाय एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग सम्झौता समेत भइसकेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।  सम्झौता अनुसार प्राधिकरणले विद्युत् व्यापारको स्टक मार्केटका रूपमा रहेका भारतका इन्डियन इनर्जी एक्सचेन्ज र पावर एक्सचेन्ज इन्डिया लिमिटेड नामक विद्युत् बजारबाट विद्युत् किनबेच गर्न सक्नेछ । यसका लागि एनभीभीएनले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने सम्झौता भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।  

‘भारतीय विद्युत् बजारमा हरेक १५/१५ मिनेटमा विद्युत्को नयाँ दर जारी हुने गर्छ,’ अधिकारीले भने, ‘उक्त बजारमा राति १२ बजेबाट बिजुली चाहिने वा दिने हो भने अघिल्लो दिन बिहान १० बजेभित्र बुक गरिसक्नुपर्छ ।’ अधिकारीका अनुसार नेपालले तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन शुरू हुनुअघि नै उक्त बजारमा आफ्नो प्रवेश चाहिरहेको छ । ‘त्यसो हुन सके तामाकोशी आइसकेपछि बढी हुने विद्युत् हामी सोही बजारमा विक्री गरिहाल्न सक्ने थियौैं,’ अधिकारीले भने । 

प्रकाशित मिति: : 2019-09-16 07:22:03

प्रतिकृया दिनुहोस्