ज्ञानेन्द्र शाहीलाई कास्की र धनुषामा प्रवेश निषेध

ज्ञानेन्द्र बहादुर शाही

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीलाई कास्की र धनुषामा प्रवेश निषेधको निर्णय गरेको छ ।

युवा संघ नेपाल धनुषाले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई प्रवेश निषेध गर्ने घोषणा गरेको हो । पूर्व वाइसिएलका अध्यक्ष सरोज यादवको हस्ताक्षरसहित जारी विज्ञप्तिमा भदौ २८ गते नेपालगञ्जस्थित एयरपोर्टमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा ज्ञानेन्द्र शाहीलाई धनुषा जिल्लामा कुनै पनि प्रकारको कार्यक्रम गर्न नदिने र प्रवेश निषेध गर्ने निर्णय गरिएको जनाइएको छ ।

यता तत्कालीन वाइसिएल नेपाल कास्की र तत्कालीन युवा संघ नेपाल कास्कीका अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तीमा पनि शाहीलाई प्रवेश निषेध गरिएको छ ।

विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।

‘पछिल्लो समय ज्ञानेन्द्र बहादुर शाह जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गरेको जानकारी गराउदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलव्धिका पक्षमा उभिनुभई सहयोग गर्न अपिल गर्दर्छौँ,’ राष्ट्रिय युवा संघको विज्ञप्तिमा उल्लेख छ ।

तर नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन ।

प्रकाशित मिति: : 2019-09-16 17:45:20

प्रतिकृया दिनुहोस्