कीर्तिपुरमा बन्यो काठमाडौंकै पहिलो 'प्लास्टिक सडक'

कीर्तिपुर, नयाँ बजारमा प्लास्टिक मिसाएर कालोपत्रे गरिएको सडक। तस्बिर: नारायण महर्जन/सेतोपाटी

एक वर्षदेखि धूलाम्मे र खाल्डाखुल्डीले अस्तव्यस्त कीर्तिपुर, नयाँ बजार सडक बुधबार कालोपत्रे गरियो। अब यो काठमाडौं उपत्यकाकै विशेष सडक बनेको छ।

विशेष हुनुको कारण- यहाँको कालोपत्रेमा अलकत्रा र गिटीबालुवासँगै चाउचाउ, बिस्कुट, पराग, चक्लेट लगायत विभिन्न 'जंकफुड' का प्लास्टिक खोलसमेत मिसिएका छन्।

सहर प्रदूषित पार्ने यी प्लास्टिक खोल बटुलेर, मेसिनले टुक्राटुक्रा पारेर, पगालेर, अलकत्रा र गिटीबालुवासँग मिसाएर सडक कालोपत्रे गरिएको हो।

'प्लास्टिक सडक' बनाउने अभियान पोखराबाट सुरू भएको थियो। पोखराका दुई युवा इञ्जिनियर र केही व्यवसायीले नौ महिनाअघि नेपालमै पहिलोपटक 'प्लास्टिक सडक' बनाएका थिए।

कीर्तिपुरका मेयर रमेश महर्जनले त्यही प्रविधि नयाँ सडकमा लागू गर्न पोखरेली समूहसँग सम्पर्क गरे। त्यसमा मेकानिकल इञ्जिनियर विमल बास्तोला, सिभिल इञ्जिनियर राजीव सुवेदीसहित सञ्जीव बास्तोला, अजय केसी र निराजन घिमिरे छन्।

'उहाँहरूलाई डाकेर सिधै काम लगाउन नमिलेपछि हामीले उपभोक्ता समिति गठन गर्यौं,' मेयर महर्जनले सेतोपाटीसँग भने, 'समितिले सामान्य सडकमा जस्तै बजेट बनाएर काम सुरू गर्यो।'

प्रकाशित मिति: : 2019-05-17 09:00:05

प्रतिकृया दिनुहोस्