कञ्चनजङ्घा आरोहण: दुई भारतीय पर्वतारोहीको मृत्यु, चिलेका एक सम्पर्कविहीन

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र एक जना सम्पर्कविहीन भएको पर्यटन विभागले जनाएको छ।

विभागका प्रवक्ता सुरेन्द्र थापाका अनुसार मृत्यु हुनेहरू दुवै जना भारतीय नागरिक हुन्।

आरोहणको व्यवस्थापनको जिम्मा लिएको पीक प्रमोशन कम्पनीका अध्यक्ष केशव पौडेलका अनुसार मृत्यु भएका आरोहीहरू पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य हुन्।

नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधवार १० नेपालीसमेत ३६ जना पुगेको पर्यटन विभागले जनाएको छ।

यस वर्ष छवटा टोलीबाट ३४ जनाले कञ्चनजङ्घा आरोहणको नेपाल सरकारसँग अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

यो वसन्त ऋतुमा नेपालका विभिन्न ३० हिमाल चढ्न १०९ वटा टोलीका ८४६ जनाले अनुमति लिएका छन्।

 

प्रकाशित मिति: : 2019-05-16 14:40:45

प्रतिकृया दिनुहोस्