गंगालालमा बालिका मृत्यु प्रकरण : पीडित भन्छन्- अस्पतालको गल्ती, निर्देशक भन्छन्- पैसा असुल्ने नियत

नेपाल लाइभ

काठमाडौं- बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भएको बालिका मृत्यु प्रकरणमा नेपाल मेडिकल काउन्सिलले छानबिन थालेको छ। बालिकाका आफन्तले उजुरी दिएपछि छानबिन कमिटीले काम गरिरहेको मेडिकल काउन्सिलका रजिष्ट्रार डा दिलीप शर्माले जानकारी दिए। 

‘कमिटीले घटनाबारे मिहिन ढंगले छानबिन गरिरहेको छ,' उनले भने, 'छिट्टै  प्रतिवेदन आउँछ।’

सर्लाही सिसौटियाकी ५ वर्षीया आकृतिकुमारी साहको मुटुको भल्भ फेर्न बैसाख १३ गते गंगालालमा भर्ना गरिएको थियो। उनको १७ गते शल्यक्रिया गरियो। तर, उपचारका क्रममा उनको २३ गते निधन भयो। उक्त घटनापछि बालिकाका आफन्तले फरक समूहको रगत चढाइएको आरोप लगाउँदै आएका छन्। अस्पतालको लापरबाहीकै कारण उनको ज्यान गएको दाबी गर्दै बालिकाका आफन्तले काउन्सिलमा उजुरी दिएका हुन्।

तर, अस्पतालले भने बालिकाको मृत्युको विषय ‘पैसा असुल्ने’ नियत रहेको जनाएको छ। घटनामा अस्पताल वा चिकित्सक दोषी नभएको अस्पतालको भनाइ छ। अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले केही व्यक्तिले व्यक्तिगत रुपमा चिकित्सकलाई दोषी देखाउने प्रयास गर्दै आइरहेको बताए। उनले भने, ‘बालिकाको मृत्युबारे काउन्सिलले अनुसन्धान गरिरहेको छ। तर, मलाई व्यक्तिगत रुपमा आरोप लगाउँदै केही बिचौलियाले खेल्ने कोसिस गरिरहेका छन्।’

प्रकाशित मिति: : 2019-05-16 14:30:37

प्रतिकृया दिनुहोस्