स्वर्गद्वारीमा गौमुत्र प्रशोधन केन्द्र, मूल्य लिटरको १५०

तस्बिरः अनलाइनखबर

१ जेठ, प्यूठान । स्वर्गद्धारी आश्रम प्यूठानमा ‘गौमुत्र’ प्रशोधन गरी प्रयोग गर्न थालिएको छ । धार्मिक परम्परा अनुसार पञ्चामृत उपभोगका लागि प्रशोधित गौमुत्रको प्रयोग थालिएको हो ।

आयुर्वेद चिकित्सकको सल्लाह अनुसार, गौमुत्र प्रशोधन थालिएको आश्रमका सहायक कोठारी बाबुराम न्यौपानेले जानकारी दिए ।

ग्याष्टिक, अल्सर, रुघाखोकी, बाथलगायत रोगको उपचारका लागि प्रशोधित गौमुत्र उपयोगी मानिन्छ । वाष्पीकरण विधिबाट प्रशोधित गौमुत्रमा हर्रो, बर्रो, चिराइतो, अमलालगायत जडीवुटी मिसाइएको न्यौपानेले बताए ।

आश्रममा हाल दैनिक ४० लिटर प्रशोधित गौमुत्र उत्पादन हुँदै आएको छ । आश्रमले प्रतिलिटर १५० रुपैयाँको दरले बिक्री गर्ने गरेको छ । आश्रममा आउने दर्शनार्थीले गौमुत्रको उपयोगीता वारे जानकारी लिएर खरिद गर्ने गरेका छन् ।

जंगलमा चर्ने गाईले यहाँ पाइने जडिबुटी खाने भएकाले यहाँको गौमुत्रको माग बढेको सहायक न्यौपानेको बुझाइ छ । दुई महिनामा पन्ध्र सय लिटर बिक्री भएको छ ।

प्रकाशित मिति: : 2019-05-15 09:11:21

प्रतिकृया दिनुहोस्