प्रधानमन्त्रीको 'निम्छरा' सहितका सबै अमर्यादित शब्दहरु 'डिलिट' गर्न निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि जवाफ दिने क्रममा प्रयोग गरेको 'निम्छरा' शब्द रेकर्डबाट हटाइने भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिमात्र होइन, त्यस दिन संसदमा सरकार र प्रतिपक्षी दलका नेताहरुले प्रयोग गरेका असंसदीय शब्दलाई रेकर्डबाट डिलिट गर्न निर्देशन दिइएको छ। सभामुख कृष्णबहादुर महराले अमर्यादित शब्द हटाउन निर्देशन दिएपछि निम्छरासहित अब कुन कुन शब्द हटाउने भन्ने विषयमा एउटा समिति नै बन्ने छ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले गरेको प्रश्नलाई होच्याउँदै निम्छरा शब्द प्रयोग गरेपछि विवाद उत्पन्न भएको थियो। प्रधानमन्त्री ओली र कांग्रेसका सांसदहरुबीच संसदमै 'अमर्यादित' शैलीमा भनाभन चलेको थियो। नीति तथा कार्यक्रमको जवाफभन्दा पनि प्रधानमन्त्री बाझाबाझकै शैलीमा उत्रिएका थिए भने कांग्रेसका मीनेन्द्र रिजाल, मीन विश्वकर्मालगायतका सांसदहरुले पनि आफूलाई संयमित राखेका थिएनन्। संसदमा प्रधानमन्त्री र कांग्रेसका सांसदहरु ठाडो सवाल जवाफ गरिरहँदा सभामुख कृष्णबहादुर महराले संसदको कमाण्ड सम्हाल्न सकेका थिएनन्। संसदीय प्रकृयामा नै उनको भूमिकामाथि प्रश्न उठ्ने गरी सवाल जवाफ चलेको थियो।

प्रकाशित मिति: : 2019-05-11 09:39:58

प्रतिकृया दिनुहोस्