दोहाबाट डिपोर्ट, काठमाडौंमा कर्‍यापझ्याप !

काठमाडौं : झण्डै दुई वर्षपछि २६ वर्षीय धनेन्द्रकुमार यादवको परिवारसँग भेट हुँदै थियो। वैदेशिक रोजगारीको सिलसिलामा यादव कतारको राजधानी दोहा उडेका थिए। आर्थिक अवस्था सुधार्ने सोच बोकेका यादवको विदेश यात्रा खासै सफल भएन।

गएको केही समय त राम्रोसँगै बित्यो। तर, कमाइ सोचे जस्तो भएन। बरु अर्को लफडा आइलाग्यो। मदिराको सुरमा साथीभाइसँग उल्टै झगडा पर्‍यो। स्वदेशजस्तो कहाँ हुन्थ्‍यो? उनी परे प्रहरीको फन्दामा। जतिखेर छुटे, काममा रहने कुरै रहेन, सिधै डिपोर्ट।

आइतबार बिहान यादव दोहाबाट नेपाल एयरलाइन्सको विमानमार्फत् काठमाडौं आइपुगे उनी। जेलमुक्त भएर उनी काठमाडौं उत्रिँदा उनीसँगै जोडिएर आएको थियो अर्को संकट।

त्रिभुवन विमानस्थलबाट बाहिरिने बित्तिकै 'तपाईँसँग कुराकानी गर्नु छ' भन्दै एक टोलीले उनलाई गाडीमा राख्यो। त्यसपछि पुर्‍याइयो गौशाला।

‘दोहाबाट ल्याएको सुन खोइ?'

एक युवकले प्रश्न गरेपछि यादव झसङ्ग भए।

यसरी प्रश्न सोध्ने अरु कोही थिएनन्। सादा पोशाकमा रहेका प्रहरी थिए।

‘विमानस्थलबाट गौशाला पुर्‍याएर केरकार गर्‍यौं। खानतलासी पनि गरेका थियौं,' महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले सुनाए।

केही समय लगाएर प्रहरीले उनको शरीर तथा झोला खोतल्यो। तर, हात लाग्यो शून्य। यादवले सुन बोकेर ल्याएको सूचनाका आधारमा उनलाई समात्न प्रहरी पुगेको थियो। तर खानतलासी गर्दा सुन गायब!

'सुन कहाँ गयो? कसलाई दिइस् सुन?'

प्रहरीले पटक पटक यस्ता प्रश्न जारी राखिरह्यो। अन्ततः सत्य लुकेन। नेपाल वायुसेवा निगमका एक कर्मचारीलाई दिएको उनले बताए।

अन्तत: यादवले दोहादेखि नै सम्पर्क गरेर सुन ल्याएको जानकारी दिए। त्यही सुन धावनमार्गबाट बसमा चढेपछि एयरलाइन्सका कर्मचारीका हातमा थमाएका थिए। कर्मचारी र यी यात्रु दुवै अहिले प्रहरी हिरासतमा छन्।

 

प्रकाशित मिति: : 2019-05-07 13:02:38

प्रतिकृया दिनुहोस्