भारतमा आँधीको डरले ८ लाख मान्छे सारिँदै, नेपालमा हावाहुरी र वर्षा सम्भावना

तस्बिरः एजेन्सी

भारतको पूर्व तटीय क्षेत्रमा समुद्री आँधी आउने सम्भावना देखिएपछि त्यस क्षेत्रका हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ।

उडिसा राज्यका करिब ८ लाख मान्छेलाई आँधीले प्रभाव पार्नसक्ने क्षेत्रबाट सार्ने प्रक्रिया भइरहेको बिबिसीले जनाएको छ। 'फानी' नाम दिइएको आँधी २ सय किलोमिटर प्रतिघण्टाको गतिमा आउने अनुमान मौसमविद्हरुले गरेका छन्।

यो आँधी अहिले बंगालको खाडी हुँदै आन्ध्र प्रदेशतर्फ गइरहेको अधिकारीहरूले बताएका छन्। उडिसा राज्यको केन्द्र हुँदै जाने यो समुद्री आँधीले कम्तीमा १३ जिल्ला प्रभावित गर्न सक्छ। यो क्षेत्र आसपासका सबैलाई सुरक्षित घरभित्र रहन सूचना जारी गरिएको छ।

भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीका अनुसार यो आँधीले छिमेकी राज्य आन्ध्र प्रदेश र तमिलनाडुमा पनि प्रभाव पार्न सक्नेछ। त्यसैले ती क्षेत्र उच्च सर्तकता अपनाइएको सरकारी अधिकारीहरूले जनाएका छन्।

यो आँधी एकदमै बलियो हुनसक्ने भएकाले जोखिमपूर्ण रहेको उनीहरूको भनाइ छ। शुक्रबार जमिनमा पर्ने अनुमान गरिएको यो समुद्री आँधी उडिसाको पुरी नामक सहरमा यसको प्रभाव धेरै देखिनेछ। पुरीमा साढे आठ सय वर्षभन्दा पुरानो जगन्ननाथ मन्दिर रहेको र उक्त ऐतिहासिक भवनमा असर पर्ला भनेर अधिकारीहरू चिन्तित छन्।

प्रकाशित मिति: : 2019-05-03 00:43:03

प्रतिकृया दिनुहोस्