‘हिमालय वारपार रेलमार्गले कायापलट’

तस्बिरः अन्नपूर्ण

बेइजिङ : सीमापार रेलमार्गले हिमालय वारपार बहुआयामिक ‘कनेक्टिभिटी’ को विकास हुनेमा नेपालले जोड दिएको छ। रेलमार्गले नेपाल र चीनबीच मात्र नभई अन्य मुलुकसँग सम्पर्क सञ्जाल प्रवद्र्धन गर्न सहयोग पुग्ने धारणा राष्ट्रपति विद्यादेवी भण्डारीबाट व्यक्त भएको हो। यसमा चिनियाँ सहयोग अपरिहार्य रहेको राष्ट्रपति भण्डारीको भनाइ छ।

अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चको बेइजिङमा शुक्रबार आयोजित उच्चस्तरीय बैठकमा राष्ट्रपति भण्डारीबाट यस्तो धारणा व्यक्त भएको हो। सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढ रहेकाले यस्तो सञ्जाल थप महत्त्वपूर्ण रहने राष्ट्रपतिको भनाइ छ।

राष्ट्रपति भण्डारीका अनुसार अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न नेपाललाई तत्काल छिमेकीको साथ चाहिएको छ। बैठकमा सम्बोधनका क्रममा राष्ट्रपतिबाट चीनको अग्रसरताका लागि समकक्षी सी चिनफिङप्रति धन्यवाद व्यक्त भएको छ। ‘विश्व आज गम्भीर परिवर्तनको मोडमा छ। संसारका धेरैजसो भागमा गरिबी घटेको छ। स्वास्थ्य तथा शिक्षामा पहुँच सहज बनेको छ र धेरै अर्थतन्त्र समृद्ध बन्दै गइरहेका छन्। प्राविधिक क्रान्तिले सम्भावनाको ढोका खोलिदिएको छ। आपसी सहयोग नभएको भए ती उपलब्धि सम्भव हुने थिएनन्,’ राष्ट्रपतिद्वारा नेपालीमा प्रस्तुत भाषणमा उल्लेख छ। नेपालले विकासका चुनौती सामना गर्न छिमेकीलगायत अन्य मित्रराष्ट्र तथा विकास साझेदारसँग द्विपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहेको स्पष्टोक्ति राष्ट्रपति भण्डारीको छ।

प्रकाशित मिति: : 2019-04-27 07:49:41

प्रतिकृया दिनुहोस्