विकट कर्णाली : जहाँ पिठ्यूँमा भारी नबोकी चल्दैन दैनिकी

नाम्खा गाउँपालिका–२ केर्मीबाट मैदाको भारी बोकेर घर फर्किंदै गरेका चौगानफायाँका महिला । तस्बिर : नयाँ पत्रिका

सिमकोट गाउँपालिका–७ चौगान फायाँका स्थानीय प्रशस्त खेतीयोग्य जमिन र सिँचाइ नभएपछि बाह्रै महिना पिठ्यूँका भरमा बाँच्ने गरेका छन् । गाउँमा खेतीयोग्य जमिन नहुँदा चौगान फायाँवासी उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोटको मैदा र सदरमुकाम सिमकोटको चामल बोकेर परिवार पाल्ने खर्चको जोहो गर्न बाध्य भएका छन् ।

चौगान फायाँकी २४ वर्षीया सरिता शाही एक वर्षको छोरा घरमै छाडेर मैदा लिन चार घन्टा पैदलपछि नाम्खा–२ केर्मी पुगिन् । नाम्खा गाउँपालिकाको केर्मीबाट मैदाको भारी बोकेर घर पुग्न भने उनलाई पाँच घन्टा लाग्छ । गाउँमा खेतीयोग्य जमिन नभएपछि दैनिक तुम्कोटको मैदा र सिमकोटको चामल किनेर बिहान–बेलुका खर्चको जोहो गर्दै आएको उनले दुखेसो गरिन् ।

यो बाध्यता सरिताको मात्रै होइन, सिमकोट–७ चौगानफायाँकै सुनीता शाही पनि घरमा खाद्यान्न नभएकै कारण बालबच्चा छाडेर मैदा किन्न केर्मी गाउँ पुगेको बताउँछिन् । ‘आमाले मैदा लिएर आउँछिन् बेलुका खाउँला भन्दै छोराछोरी आसैआसमा बसेका होलान्,’ सरिता शाहीले भनिन् । ‘निर्वाचनको समय सिँचाइ दिउँला भन्छन्, निर्वाचित भएपछि आफ्ना घर बनाउँछन्, आफ्नै छोराछोरी सुविधासम्पन्न विद्यालयमा पढाउँछन् । गरिबका छोराछोरीको पढाइलेखाइ टाढाकै कुरा हो, बिहान–बेलुका बच्चालाई खान लगाउनसमेत समस्या छ’ सरिताले भनिन् ।
खेतीबाट दुई महिना धान्न पनि मुस्किल हुने स्थानीय रत्न शाहीले बताए । ‘गाउँमा धेरै जग्गा हुनेहरूलाई बढीमा दुई महिनासम्म हुन्छ, थोरै जग्गा हुनेको त एक महिना पनि पुग्दैन । गाउँको खेत एक बिहान जोतेर सकिन्छ’ उनले भने ।

प्रकाशित मिति: : 2019-04-18 09:03:24

प्रतिकृया दिनुहोस्