धनुषामा बम विस्फोट: २ काे मृत्यु, इन्स्पेक्टरसहित ४ गम्भीर घाइते

तस्बिर: बिएल

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोट भएको छ। उक्त विस्कोटमा दुईजनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित ४ जना गम्भीर घाइते भएका छन्।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा राखिएको गएराति सवा १२ बजेतिर बम विष्फोट भएको हो। सो विष्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह र उनको अन्दाजी २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन्। जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई धरान लगिएको छ।

घटनामा अन्य २ जना सामान्य घाइते भएको बताइएको छ।

राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहालसहितको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।

विष्फोटमा प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान महतोको बायाँ कोखमा छर्रा लागेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

प्रकाशित मिति: : 2019-12-14 07:20:46

प्रतिकृया दिनुहोस्