ए डिभिजन लिग विजेताले ५० लाख पाउने

फाइल तस्बिर: बिएल

सहिद स्मारक ए डिभिजन लिग फुटबलको विजेताले ५० लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार पत्रकार सम्मेलन गर्दै शनिबार सुरु हुने ए डिभिजन लिगको विजेताले ५० लाख पाउने घोषणा गरेको हो।

यस्तै उपविजेताले ३५ लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने छन्। चौंथोले १५, पाँचौले ७ र छैटौंले ५ लाख पाउने छन्।

एन्फाले हरेक खेल जित्ने टिमलाई बोनस वापत थप ५० हजार दिनेछ भने बराबरी भए १५/१५ हजार दिनेछ।

क्लबलाई तयारी खर्चको लागि एन्फाले २०/२० लाख समेत उपलब्ध गराउने छ।

यस्तै प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार प्रदान गरिनेछ।

हरेक खेलको म्यान अफ दि म्याचलाई १० हजार र फेयर प्ले टिमले १ लाख पाउने छन्।

लिगका लागि क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउनेछन्। जसमा एक जना दक्षिण एसियाली देशको हुनुपर्नेछ। चार जना विदेशी खेलाडी एकै पटक खेलाउन पाउने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए। क्लबले १८ देखि ४५ वर्षभित्रका खेलाडी मात्र दर्ता गराउने पाउनेछन् ।

ए डिभिजन लिग फुटबल शनिबारबाट सुरु हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी)बीचको खेलसँगै औपचारिक रुपमा ए डिभिजन लिगको सुरुवात हुनेछ।

फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्। जसमा कुल ९१ खेल हुनेछ। हरेक राउण्डमा ७ खेल हुनेछ। शीर्ष टोलीले उपाधि जित्ने छन्।

यस्तै लिगमा एक मात्र टिम घटुवा हुनेछ। एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो।

प्रकाशित मिति: : 2019-12-12 17:11:59

प्रतिकृया दिनुहोस्