नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने

तस्बिरः एजेन्सी

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई हप्ताका लागि दिउँसोको समयमा बन्द गरिने भएको छ ।

सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने र सडक सुरक्षालाई ख्याल गर्दै यही मंसिर २७ गते देखि ११ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिने आयोजनाका इञ्जिनियर एवं सूचना अधिकारी शिव खनालले बताए।

सडक खण्डको गाईघाट, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलबिरे, चारकिलो, टोपेखोला र कालिखोला क्षेत्रमा पहिरो रोकथामको काम हुदैँछ।

नारायणगढबाट मुग्लिनतर्फ आउने सवारीसाधनमध्ये यात्रुवाहक मिनिबस, माइक्रो बस, साना सवारीसाधन लाई पन्ध्र किलो बजारमा र मालवाहक सवारी टक, लरी, टेलर, टिप्पर र ट्यांकरलाई दासढुङ्गामा रोकिने खनालले बताए।

आयोजनाले केही समय अगाडि नै सडक बन्द गरेर काम गर्न अनुमति मागेको थियो। भरतपुर विमानस्थल मर्मतको काम हुने क्रममा विमानस्थल पनि बन्द र सडक मार्ग पनि बन्द हुँदा समस्या पर्ने भएकाले विमानस्थल खुलेपछि अहिले काम गर्न अनुमति दिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

आयोजनाले ३ हप्ताको समय मागे पनि मुख्य राजमार्ग भएकाले २ हप्तामा नै काम सक्नेगरी स्रोत, साधन प्रयोग गरेर काम गर्न निर्देशन दिएको भट्टराईले बताए। 

प्रकाशित मिति: : 2019-12-11 12:47:49

प्रतिकृया दिनुहोस्