माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल लेन

प्रतिकारत्मक तस्बिर

काठमाडौं महानगरपालिका (कामपा) ले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको साढे दुई किलोमिटर सडक खण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ।

कामपाले मंगलबार आयोजना गरेको पूर्वाधार विकास र लेन सञ्चालनका लागि गुरुयोजनाका विषयमा छलफलका क्रममा यस किसिमको धारणा सार्वजनिक गरेको हो।

कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले चाँडो गन्तव्यमा पुग्नुपर्ने शहरी चरित्र र बिस्तारै गन्तव्य तय गर्न सकिने साइकल यात्रा दुवैको चरित्र मिसाएर योजना तर्जुमा गर्नुपर्नेमा जोड दिँदै शहरी स्वास्थ्य र वातावरणीय सुधारका लागि साइकल आवश्यक रहेको बताए।

कामपा शहरी योजना आयोगका सदस्यसचिव सरोज बस्नेतले पहिलो चरण यी ठाउँमा साइकल लेन सञ्चालन गर्न लागिएको र यसको प्रभावकारिता हेरी अन्य स्थानमा पनि तयार गर्ने बताए।

कामपा ११ का अध्यक्ष हीरालाल तण्डुकारले ६ वर्षअघि नै सञ्चालनमा आउनुपर्ने यो ट्र्याक अहिलेसम्म सञ्चालनमा आउन नसक्नुको कारण कोट्याउँदै राजनीतिक नेतृत्व, कर्मचारी प्रशासन र उपभोक्ताबीचको अन्तर्सम्बन्ध स्थापना हुन नसक्नुलाई मुख्य कारण औँल्याउए।

जुनसुकै पूर्वाधार तयार पार्दा पनि पैदलयात्रीलाई लक्षित वर्ग बनाउनुपर्ने वातावरणविद् भुषण तुलाधरको धारणा थियो।

काठमाडौंको सडकमा गुड्ने झण्डै साढे ६ लाख सवारीसाधनको १ दशमलव ५ प्रतिशत यात्रु साइकलमा सवार हुने तथ्याङ्कले देखाएको छ। भौगोलिक अवस्था, जलवायु र आकारका दृष्टिले काठमाण्डौ उपत्यका पैदलयात्रा र साइकल प्रयोगका लागि अनुकुल रहेको सहभागीहरूको भनाइ थियो।

महानगरले लेन निर्माणका लागि ३ करोड रुपैयाँभन्दा बढी खर्चिने जनाएको छ। ललितपुर महानगरले यसअघि नै कुपण्डोलदेखि मङ्गलबजारसम्म लेन बनाउनका लागि शिलान्याससमेत गरिसकेको छ।

धेरै साइकल प्रयोगकर्तालाई साइकल ट्र्याकका बारेमा जानकारी नै नहुने हुँदा यसबारे पनि सर्वसाधारणसम्म जनचेतना पु¥याउनुपर्ने धारण सहभागीको थियो। आउँदो शनिबार तोकिएको ठाउँमा परीक्षणका रूपमा साइकल यात्रा सुरु गरिनेछ।

प्रकाशित मिति: : 2019-12-11 09:50:38

प्रतिकृया दिनुहोस्