सञ्चारकर्मी सुमन चापागाईमाथि कुटपिट गरिनु पेशागत हकविरुद्धको कदम हो: पत्रकार महासंघ

तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को समाचार संकलनका लागि दशरथ रंगशाला पुगेका सञ्चारकर्मी सुमन चापागाईमाथि प्रहरीबाट भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघ, एसोसिएट प्रदेश खेदले प्रकट गरेको छ। 

रंगशाला पुगेका नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य तथा नागरिक दैनिकका सञ्चारकर्मी चापागाईलाई नेपाल र भुटानबीच हुने फुटबल प्रतियोगिताको फाइनल खेलको टिकट नपाएकोमा विरोध गरिरहेका फुटबल प्रेमीहरुलाई प्रहरीले कुटपिट गरेको तस्विर लिनेक्रममा प्रहरीले कुटपिट गरेका थिए। प्रहरीको कुटाईबाट उनको कानमा चोट लागेको छ।

महासंघले मंगलबार एक विज्ञप्ती जारी गर्दै समाचार संकलनका लागि पुगेका पत्रकारलाई अवरोध गर्दै कुटपिट गर्नु स्वतन्त्रतापूवर्क समाचार संकलन गर्न पाउने सञ्चारकर्मीको पेशागत हकविरुद्धको कदम भएको बताएको छ।

विज्ञप्तीमा भनिएको छ-'अन्तराष्ट्रिय मानव अधिकार दिवसको दिन आम नागरिकको सुरक्षाको जिम्मेवारी पाएको सुुरक्षा संगठन नेपाल प्रहरीका जिम्मेवार अधिकृतबाट आम नागरिकसँगै सञ्चारकर्मीलाई समेत कुटपिट गर्ने घटना हुनु लोकतान्त्रिक मुलुकका लागि लज्जापद घटना हो।'

पत्रकार महासंघ, एसोसिएट प्रदेशले घटनामा संलग्न प्रहरी अधिकारीलाई तत्काल छानविनको दायरामा ल्याई कारवाहीको माग समेत गरेको छ। 'प्रहरी संगठनका सदस्यबाट हुने यस्ता नागरिक हक र प्रेस स्वतन्त्रताविरोधी गतिविधीविरुद्ध कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँछौं।'विज्ञप्तीमा भनिएको छ।'

प्रकाशित मिति: : 2019-12-10 14:05:10

प्रतिकृया दिनुहोस्