श्रीलंकालाई ७ विकेटले पराजित गर्दै बंगलादेशले जित्यो स्वर्ण

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ।

सोमबार भएको फाइनलमा श्रीलंकाको यू–२३ टिमलाई ७ विकेटले पराजित गर्दै बंगलादेश यू–२३ टिमले स्वर्ण जितेको हो।

१ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले १८ ओभर १ बलमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

उसका कप्तान नाजमुल होसेन सान्तोले सर्वाधिक अविजित ३५ रन बनाए। यस्तै सैफ हसनले ३३ रन, सौम्या सरकारले २७, यासिर अलिले १९ र आफिफ होसेनले अविजित ५ रन बनाए।

श्रीलंकाका कामिन्दु मेण्डिस सचिन्दु चोलोम्बाजले समान १र१ विकेट हात पारे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २२ रन बनायो।

उसका शम्मु अशानले २५ रन बनाए। यस्तै पथुम निस्सान्काले २२ तथा निशान फर्नान्डोले १६ रनको योगदान गरे।

बंगलादेशका हसन महमुदले ३ तथा तान्भिर इस्लामले २ विकेट हात पारे।

पुरुष क्रिकेटमा नेपालले कास्य पदक हात पारेको छ। सोमबार बिहान नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य पदक हात पारेको हो।

प्रकाशित मिति: : 2019-12-09 17:04:45

प्रतिकृया दिनुहोस्