सदाझैं यो वर्ष पनि अपाङ्गता भएकाहरुले अन्तरार्ष्ट्रिय अपाङ्ग दिवस मनाएका छन्। मङ्सिर १७ गते सचेतनाका लागि भनेर काठमाडौंको विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको नेपाल राष्ट्रिय अपाङ्ग माहासंघका अधक्ष मित्रलाल शर्माले बताएका छन्।
बिए नेपाली सेवासँग कुरा गर्दै उनले भने,'अपाङ्ग दिवसलाई सम्पन्न गर्न माहासङ्घको पुरै संयन्त्र परिचालित गरिएको थियो।' अपाङ्ग दिवसको महत्त्व दर्शाउँदै थपे,'सचेतना वृद्धि गर्न, अपाङ्गका मुद्दाहरु उठाउन, आफ्नो पहिचानलाई स्थापित गर्न, एकताबद्द शक्तिलाई सुदृढ गर्नका लागि विगत २८ वर्षदेखि यो दिवस मनाइरहेका छौं।'
उनले अपाङ्ग दिवस सबैका लागि अपरिहार्य भएको बताए। २८ वर्षको अवधिमा अपाङ्ग दिवसले गरेको उपलब्धिका बारे शर्माले भने,'मैले मात्र नभएर सायद तपाईले पनि परिवर्तनको आभाष गर्नु भयो होला।'
अहिले कानुन पनि केही हदसम्म अपाङ्ग मैत्री केही बनेको छ। अपाङ्गताको क्षेत्रमा विभिन्न देशका संचार माध्यमहरुले आवश्यकता महसुस गरेर कार्यक्रम संचालन गरिरहेका छन् भने अपाङ्गता भएका व्यक्तिहरु शिक्षामा जोडिएका छन्। यी मुलभुत कुराहरु परिवर्तन हुनुमा कहिँ न कहिँ अपाङ्ग दिवस पनि जोडिएको छ। यो दिवस मनाइरहँदा देशका ग्रामिण भेगहरुमा कुनै न कुनै रुपमा अपाङ्गता भएका साथिहरु नारकीय जीवन बिताउन बाध्य छन्।
शार्मासँग लामै कुराकानी भयो। उनले मेरा सबै प्रश्नको चित्तबुझ्दो जवाफ दिए। उनी हाम्रा कुरा अपाङ्ग माहासङ्घले मात्र महसुस गर्ने होइन, सम्पूर्ण संचार माध्यम, नागरिक समाज, राजनीतिक दल, सरोकारवालाहरुको पनि अहम भुमिका भएको बताउँछन्।'सबैले आ-आफ्नो तर्फबाट जिम्मेवार भएर सघाएमा सहज हुनेछ। थप उपलब्धि हुनेछन्।' उनले भने,'हामीले सबै अधिकार प्राप्त गरिसकेका छैनौं। नजर केही मात्रामा फेरिएको मात्र हो। यो पर्याप्त होइन। अपाङ्गताको क्षेत्रमा अझ पनि धेरै समस्याहरु छन्। विकट गाउँहरुमा अपाङ्ग साथिहरुले भोगेका दुखका ठुलाठुला पहाड नै छन्।'
उनी यी सबै समस्यालाई सुल्झाउन आफू सदैव क्रियाशील रहने बताउँछन्। उनले अनवरत संघर्षको ३० वर्षे लामो यात्रा पूरा गरेका छन्। राष्ट्रिय अपाङ्ग माहासंघले हालसम्म केके काम गर्यो भनेर बुँदागत रूपमा भन्न नसकिने बताउने शर्मा भन्छन्,'हामी चार ओटा आफ्ना रणनीतिका आधारमा गतिविधिहरु सञ्चालन गरिरहेका छौं। वकालत गर्ने, अपाङ्गमैत्री नियम बनाउनका लागि सरकारलाई दबाब दिने,भएका नीति नियमहरु प्रभावकारी ढङ्गले कार्यान्वयन गराउन सरकारलाई घच्घच्याउने,धर्ना दिने तथा संचार माध्यमबाट सरोकारवालाहरुलाई दबाब दिने।'
'हाम्रा तमाम समस्याहरु छन्। सरकार र सरोकारवालाहरुले हाम्रो समस्या सुनिदिएको मात्र हो। काम गर्न त पुरै बाँकी छ भन्दा पनि हुन्छ। जस्तो अपाङ्गमैत्री बाटो छैन। अस्पतालमा उपचार गर्न जान समस्या छ। बच्चा जन्माउनलाई अस्पतालहरुमा अपाङ्गमैत्री वातावरण छैन। अपाङ्गता भएका व्यक्तिहरुलाई अहिलेको अवस्थामा कहिँ पनि समाबेश गरिएको छैन। कतै पार्क अथवा सेमिनार हुने ठाउँहरुमा पनि अपाङ्गता भएकाहरुको पहुँचभन्दा टाँढा छन्। त्यहाँ ह्विल्चियरमा बस्ने साथिहरु जान सक्दैनन्। यी तमाम समस्या अपाङ्गता भएकाले भोग्दै र सहँदै आएका छौं।' शर्माले टिप्पणी गरे।
दृष्टिविहीनहरुले प्रयोग गर्ने सेतो छडी र शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने ह्विल्चियर समयमा पाउन सक्दैनन्। उपलब्ध भएपनि शारिरीक बनावट अनुसारको हुँदैन। उनले भने, 'नेपालमा सेतो छडी र ह्विल्चियर बनाउने कारखाना छैन। सरकारले निः शुल्क वितरण गर्ने ७२ प्रकारका औषधिको सहज उपलब्धता छैन। हामीले सरकारलाई दबाब दिन थालेको उहिलेदेखि हो। सुनाउनलाई अनवाज गगनभेदी बनाएको अहिले होइन। तर सरकार कानमा तेल हाली बसेको छ।'
अपाङ्गता भएका कतिपय साथिहरु पढेलेखेका छन् तर काम पाइरहेका छैनन्। सर्टिफिकेट सिरानमा कोचेर बस्नुका पीडा सुनिसक्नु छैनन्। समस्या समाधानका लागि शिरक भित्रबाट कराएर हुने केही छैन। उनले भने सडकमा आएर अविराम संघर्ष गर्नुपर्छ।
'दिगो विकासको लक्ष। अपाङ्गमैत्री भविष्य बनाउने छौं अवस्य।'
'मलाई गणना गर। समावेश गर।'
'दिगो विकासको लक्ष कार्यन्वयनमा अपाङ्गता भएका व्यक्तिहरुको सार्थक नेतृत्व र सहभागिता।'
यी मंसिर १७ गते मनाएको अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका नारा थिए।
यस अवसरमा अपाङ्ग दिवस मनाउनका लागि दिनरात खटिएका केहि दृष्टिविहीन साथिहरुको प्रतिक्रिया लिने कोसिस गरेको छु।
नेपाल दृष्टिविहीन कल्याण संघ त्रिपुरेश्वरमा २०४६ साल देखि लाइब्रेरी साखामा काम गर्दै गरेकी अमृता नेवार भन्छिन्,'अपाङ्ग दिवस हाम्रो पर्व जस्तै हो। यसलाई हामी सबैले हर्सउल्लासका साथ मनाउनु पर्छ। अपाङ्गता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भनेर समाजलाई देखाउन र चिनाउन तथा हाम्रा साथिहरुलाई आफूले केही गर्न सक्छौं भन्ने उत्प्रेरणा प्रसार गर्न यो दिन अनिवार्य छ।' उनी किर्तिपुरमा बसिरहेकी छन्।
दृष्टिविहीन गणेश थापा भन्छन्,'दुर्गम क्षेत्रमा गुम्सिएर बसेका अपाङ्ग साथिहरुलाई अब बाहिर निकाल्नु पर्छ। अपाङ्गता भएका व्यक्तिहरु एकदिन घोक्रो फुट्ने गरि चिच्याएर हुँदैन। नारा अनुसारको काम पनि गर्न पर्छ।' उनी महेन्द्र रत्न क्याम्पस ताहाचलमा पढ्दै छन्। उनको घर धादिङ हो।
दृष्टिविहीन सिता धमलाको मत भने फरक रहेको छ। उनी भन्छिन्,'२०६ सालबाट अपाङ्ग दिवस मनाउदै आएको छु। अपाङ्गता भएका साथिहरुसँग भेटघाट हुन्छ। यो राम्रो पक्ष हो। तर एकदिन घोक्रो सुन्निने गरि गरेको भाषणले केहि परिवर्तन गरे जस्तै लाग्दैन। किन भने हातमा सीप भएर पनि सडकमा गीत गाएर दयाको पात्र बन्न बाद्य छन्, हाम्रो साथिहरु। उनीहरुको जीवन फेर्ने विषयमा सोच्नुपर्यो।'