सीमा विवाद: प्रधानमन्त्री ओलीका दूत नेपाललाई भेट्न मोदी सरकारद्वारा अस्वीकार

फाइल तस्बिर: बिएल

सीमा विवादबारे कुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष दूतका रुपमा भारत जान लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न भारतीय पक्षले अस्वीकार गरेको छ।

दि प्रिन्टले विशेष दूत नेपाललाई मोदी सरकारले भेट्न अस्वीकार गरेको उल्लेख गरेको छ। सीमा विवाद भएपछि सरकारले पूर्व प्रधानमन्त्री नेपाललाई विशेष दूतका रुपमा पठाउने तयारी गरेको थियो।

कुनै खास विषयमा विशेष चासोका साथ कुराकानी गर्न यसरी विशेष दूत पठाउने कुटनीतिक अभ्यास रहँदै आएको छ। यस अघि शाहीकालमा राजनीतिक पार्टीहरू र राजाबीच समझदारी बनाउने प्रयास अन्तर्गत करण सिंह र संविधान जारी गर्ने बेला भारतका तत्कालीन विदेश सचिव एस जयशंकर विशेष दूत बनेर नेपाल आएका थिए। नेपालले भने भारतमा यसरी खास मिसनका लागि यस अघि विशेष दूत पठाएको छैन्।

यद्यपि यस विषयमा प्रधानमन्त्री ओली आफैले पनि आबश्यक परे भारतीय प्रधानमन्त्री मोदीसँग छलफल गर्ने बताएका छन् ।

पछिल्लो समय भारतले जारी गरेको नक्सामा नेपाली भूभाग समेटिएको भन्दै विरोध भइरहेको छ। नेपाली भूभाग लिम्पियाधुरा तथा कालापानी समेत समेटिएको नक्सा प्रकाशनमा आएको हो। भारतीय पक्षले नक्सा पुरानै भएको दाबी गरिरहेको छ।

नेपाल सरकारले लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकै भएको प्रमाण सुरक्षित रहेको दाबी गरेको छ।

भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा जारी गरेको विषयमा सरकारले ‘कूटनीतिक नोट’ पनि पठाइसकेको छ। यसमा पनि भारतको ठोस जवाफ आएको छैन।

भारतसँग वार्ता हुँदा सरकारले विक्रम संवत् १९९७ मा बैतडी गौंडामा तिरो तिरेको रसिद, २०१५ सालको आम निर्वाचन र २०१८ सालको जनगणना लगायतका अभिलेख र दस्तावेजले कालापानी, लिपुलेक लिम्पियाधुरा नेपालको भन्ने प्रमाणका रुपमा राख्ने तयारी गरेको छ।

प्रकाशित मिति: : 2019-12-08 12:46:54

प्रतिकृया दिनुहोस्