मुख्यमन्त्री पौडेलद्वारा खेलाडीको उच्च प्रशंसा

फाइल तस्बिर: बिएल

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा नेपाली खेलाडीले गरेको उच्च प्रदर्शनको प्रशंसा गरेका छन्। आएतबार एक सन्देशमार्फत उनले नेपालले सागको शुरुआत अत्यन्तै सुखद् ढङ्गले गरेको र यसक्रममा नेपाली खेलाडीले उच्च प्रदर्शन गरेको जनाएका छन्।

सन्देशमा खेलक्षेत्रको विकास र विस्तार गर्न प्रदेश सरकारले उच्च प्राथमिता दिएको उल्लेख गरिएको छ। सन्देशमा भनिएको छ, “हालसम्म नेपाली खेलाडीको प्रदर्शन अत्यन्तै सुखद् रहेको छ। विभिन्न विधामा विश्व कीर्तिमानसमेत राख्न सफल हुँदै विभिन्न पदक जित्न सफल सबै खेलाडीलाई हार्दिक शुभकामना दिन चाहन्छु। बाँकी खेलबाट सफल हुने विश्वासका साथ सबै खेलाडीलाई अग्रिम शुभकामना।”

“प्रदेश सरकार खेलकूदको दीर्घकालीन विकासका लागि नीतिगतरूपमा नै लागिरहेको छ। प्रदेशमा एक अन्तरराष्ट्रियस्तरको खेलकूद प्रशिक्षण प्रतिष्ठान, जिल्लामा रङ्गशाला एवं स्थानीय तहमा खेलमैदान स्थापना व्यवस्थापन, सबै विद्यालयमा खेलमैदानको व्यवस्था र निर्वाचन क्षेत्रहरुमा कभर्डहल निर्माणकार्य भइरहेको छ। आगमी दुई वर्षमा भौतिकरूपमा हामी सक्षम हुनेछौँ, अनि प्रदेश सरकारले खेलाडीको व्यावसायिक जीवनको संरक्षण पनि गर्नेछ”, सन्देशमा भनिएको छ।

प्रकाशित मिति: : 2019-12-08 09:34:33

प्रतिकृया दिनुहोस्