बंगलादेशसँग नेपाल ४४ रनले पराजित

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले बंगलादेशसँग पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको हो। १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा १११ रनमै समेटियो।

नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले १६, पारस खड्काले ९ रन बनाए।  पवन सर्राफ र आरिफ शेख एक रन पनि नजोडी आउट हुन पुगे।

बंगलादेशका तान्भिर इस्लाम, सौम्या सरकार, सुमोन खान र मेहेदी हसनले समान २/२ विकेट हात पारे।  

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेश यू २३ ले ६ विकेट गुमाएर १५५ रन बनायो।

बंगलादेशका लागि कप्तान नाजमुल होसेन सान्तोले ६० बलमा ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ७५ रन बनाए।

यस्तै आफिफ होसेनले ५२ रन बनाए।

नेपालका पारस खड्काले ३ विकेट हात पारे। यस्तै दिपेन्द्र सिंह ऐरीले २ तथा अविनास बोहराले १ विकेट लिए।

चार खेलमा दुई जित र दुई हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

नेपालले ४ खेलमा ४ अंक जोडेको छ।

बंगलादेश यू २३ ले ३ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। यस्तै श्रीलंका यू २३ समेत ३ खेलमा ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।

श्रीलंका र बंगलादेश एक खेल अगावै फाइनल प्रवेस गरेका छन्। अब नेपालले कास्य पदकको लागि माल्दिभ्ससँग खेल्ने छ ।

प्रकाशित मिति: : 2019-12-07 12:59:51

प्रतिकृया दिनुहोस्