पाँच रुपैयाँ तिर्दा एक घण्टा साइकल भाडामा मिल्थ्यो। साइकल भनेपछि हुरुक्कै हुने अजय पण्डित र उनका साथीहरु आरुबारीबाट हिँड्दै जोरपाटी पुग्थे। बल्लबल्ल जोहो गरेको पैसा बुझाउँथे र पुरानो साइकल लिएर निस्कन्थे।
साइकल पुरानो भए पनि चलाउने जोश हरेकपटक नयाँ हुन्थ्यो। त्यसैले, साइकल लिएर उनीहरु शहरदेखि टाढा टाढासम्म पुग्थे - कहिले दक्षिणकाली त कहिले नारनथान।
तर, सधैं साइकल भाडामा लिन पैसा हुन्थेन। त्यस्तोमा सबैजना मिलेर पैसा जम्मा गर्थे। एउटा साइकल भाडामा लिन्थे। एउटैमा तीनजना चढ्थे। अगाडि फ्रेम (डन्डी) माथि बस्नेको जिम्मा ह्यान्डिल कभर गर्नु हुन्थ्यो। सिटमा बस्नेले भने प्याडल चाल्ने जिम्मा लिन्थे। पछाडि क्यारियरमा बस्नेको चाहिं अगाडिका दुईमध्ये एकलाई पालो दिने।
भाडामा राखिने पुराना साइकलमा त्यसरी तीनजना बस्दा साइकल बिग्रने, टुट्ने, फुट्ने त सामान्य नै हुन्थ्यो। बनाउने पैसा नहुँदा सुटुक्क लगेर राखिदिन्थे र भाग्थे। कतिपटक भने बनाउन लिएर जान्थे।
साइकल पसलहरुमा डोहोर्याउँदै पुर्याएको साइकल चलाएर फर्काउन मिल्ने हुन्थ्यो। बिग्रिएको साइकलहरु बन्थे।