एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता

फाइल तस्बिर: बिएल

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

बिहिबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण द्रुत रुपमा भइरहेको जानकारी दिँदै आगामी एक वर्षमा मुख्य संरचना पुनर्निर्माण हुने बताएका हुन्। निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले एक वर्षदेखि धरहराको पुनर्निर्माण गर्दै आएको छ।

प्राधिकरणले धरहराको मुख्य संरचना आगामी एक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको छ। त्यस्तै रानीपोखरीको पिँधमा कालोमाटो राखेर इट्टा बिच्छाउने काम भइरहेको र बालगोपालेश्वरको मन्दिर प्रताप मल्लकालीन शैलीमा बनाइरहेको ज्ञवालीले बताए। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चार वर्षमा पुनर्निर्माणमा भएका उपलब्धीहरु र चुनौतीबारे जानकारी गराएका थिए। उनले प्राधिकरणले सामाजिक उत्तरदायित्वका अन्य कामहरु पनि अघि बढाएको जानकारी दिए।

बैठकमा सांसदहरु दिलेन्द्रप्रसाद बडु, नवराज सिलवाल, झपट रावल लगायतले पुनर्निर्माण सन्तोषजनक रुपमा बढेको देखिएपनि अझै तिव्र रुपमा अघि बढाउन सुझाव दिएका थिए। समिति सभापति शशी श्रेष्ठले समितिमा पेश गरेको समयअनुसार धरहरा पुनर्निर्माण सम्पन्न गर्ने पुनर्निर्माण प्राधिकरणबाट प्रतिबद्धता आउनु सह्रानीय भन्दै कार्य रुपमा परिणत गर्न निर्देशन दिए।

प्रकाशित मिति: : 2019-12-05 18:01:55

प्रतिकृया दिनुहोस्