तत्काल संसद बोलाउनुपर्छ: प्रमुख सचेतक गुरुङ

फाइल तस्बिर: बिएल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले तत्काल संसद बोलाउनुपर्ने आवश्यक्ता रहेको बताएका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले ढिलो, चाँडो संसदको हिउँदे अधिवेशन बोलाउने कुरामा आफू आशावादी भएको बताए। उनले सभामुख अहिलेका दलहरुको संरचना र कम्पोजिसन हेर्दा नेकपालै दाबा गर्नुपर्ने आवश्यकत्ता रहेको पनि बताए।

गुरुङले कालापानी, लिपुलेक नेपालको भूमी भारतीय नक्शामा राखेपछि राष्ट्रिय ईस्युको रुपमा बहस भैरहेको सुनाउँदै वर्तमान सरकारले अतिक्रमित भूमी फिर्ता गराएरै छाड्ने स्पष्ट पारे। साक्षात्कारमा कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले संसद बैठक यतिवेलासम्म बोलाईसक्नुपर्ने स्थिति रहेकोमा त्यसमा ढिलाई भएको बताए। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूभाग भएकोले सरकारले कुटनीतिक पहलमार्फत सीमा विवादको समाधान गर्नुपर्ने बताए।

त्यस्तै राजपा नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले संसदको कामनै अवरुद्ध भएकोले तत्काल संसद सूचारु गर्न हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरे। कर्णले नेपालले भारत र चीन दुवै छिमेकीसँग सीमा विवाद समाधानको लागि कुटनीति पहल गर्नुपर्ने बताए।

सत्तारुढ दल समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले सभामुखमा आफ्नो पार्टीको प्रमुख दाबी रहने स्पष्ट पारे। आफ्नो पार्टीको हालै बसेको केन्द्रिय कार्यसमितिको बैठकमा पनि सीमा अतिक्रमणबारे छलफल भएको सुनाउँदै उनले यसबारेमा सरकारले कुटनीतिक पहलमार्फत समस्याको समाधान गर्नुपर्ने सुझाव दिए ।

प्रकाशित मिति: : 2019-12-05 17:55:48

प्रतिकृया दिनुहोस्