सिनो बहिष्कार अभियान असफल, बलि दिन नपाउँदै बोकेर हिड्न थाले चमार समुदाय

बिएल

गढीमाई मेलामा सिनो बहिष्कार अभियान असफल भएको छ। चमार समुदायले गढीमाई मेलामा बलि दिएका राँगाका सिनो बहिष्कार गरेपनि उनीहरुकै समुदायका व्यक्तिहरुले अभियानलाई असफल बनाएका हुन्।

सिनो उठाएर विभेदमा परेको भन्दै चमार समुदायले अभियान संचालन गरेपनि मंगलबार पहिलो दिनको बलिमा चढाईएको रागाँ गढिमाईको प्रसाद भन्दै घर लौजान हानथाप गरेका छन्। दलित समुदायका व्यक्तिले बलिको राँगा उठाएर घर लैजान थालेपछि अभियानको अहिले चौतर्फि आलोचना हुन थालेको छ।


विश्वमै सबैभन्दा बढी बलि दिने मेलाका रूपमा चर्चित बाराको पञ्चबर्षिय गढिमाई मेलामा हजारौको संख्यामा बोका, राँगा, कुखुरा लगायतका भाकल गरेका पशुपंक्षीको बलि दिनै चलन छ।

मेला अवधिभर चढाईने राँगाको बलिपछि त्यसको सिनोलाई दलित समुदाय अन्तर्गत पर्ने विशेष चमार जातिले घरमा लैजाँदै मासुको रुपमा प्रयोग गर्ने गर्दछन्। उनीहरुले उक्त सिनो वर्षभरी खान सुकुटी तयार गरेर राख्ने गरेका छन्।

सिनो बहिष्कार अभियान यसअघिको पञ्चबर्षिय मेलामा पनि चलाईएको थियो तर सो वर्ष पनि असफल भएको थियो। अभियानको क्रममा चमार जातिलाई सिनो उठाएर थप विभेदको व्यहोर्नुपरेको गुनासो गर्ने दलित समुदायका सचिव राज नारायणले उक्त सिनो आफूहरुले नउठाएको दावी गरेका छन्। “राँगाको सिनो हाम्रो समुदायले उठाएको छैन। हामीले त सिनो बहिष्कार गरेका छौं। अन्य समुदायका व्यक्तिहरुले उठाएर लगेका हुनसक्छ”सचिव नारायण भने।

यता दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज रामले भने दलित समुदायमा अझै चेतनाको कमी भएकाले आफुहरुले सिनो लैजान रोक्न सक्दो प्रयास गरेको बताए। दलित समुदायको मन मस्तिस्कमा गढिमाईको प्रसाद भन्ने कुरा रहेकाले आफूहरु गैर दलितबाट हेपिएको प्रति गम्भिर नभएको बताए।

आफूहरुले कसैको कुरा नसुन्ने र भगवानको प्रसादको रुपमा बलि दिएको राँगाको सिनो लैजान पाउनुपर्ने स्थानीयहरुको भनाई छ। बलि दिन नपाउँदै सिनो बोकेर हिडेको दृश्यले बलि स्थालमा पुगेका सञ्चारकर्मीहरु समेत अचम्मित पारेको छ।

प्रकाशित मिति: : 2019-12-03 19:10:18

प्रतिकृया दिनुहोस्