१३ ‍औं सागमा महिला फुटबल : आज श्रीलंकासँग भिड्दै नेपाल

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको प्रतिस्पर्धा आज (मंगलबार) बाट सुरु हुँदैछ।

पोखरा रंगशालामा नेपालले पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ । खेल बिहान १० बजे सुरु हुनेछ ।

श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । सागअन्तर्गत नेपालले श्रीलंकासँग आमनेसामने हुन लागेको यो पहिलो पटक भने होइन। ११ औं सागमा पहिलो पटक महिला फुटबलले प्रवेश पाएपछि नै यी २ देश परिचित प्रतिद्वन्द्वी बनेका छन्। तर, नेपालका लागि श्रीलंका बलियो प्रतिद्वन्द्वी भने मानिँदैन।

सागको १२ औं संस्करण भारतमा भएको थियो। भारतको गुवाहाटीमा भएको खेलमा नेपालले श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो।

यसअघिका संस्करणमा पनि श्रीलंकाले नेपालमाथि दबाब कायम राख्न सकेको छैन।

बंगलादेशको ढाकामा ११ औं संस्करणमा प्रवेश पाएको महिला फुटबल टोलीले त्यतिबेला पनि श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो।

श्रीलंकापछि नेपाल मंसिर १९ गते माल्दिभ्स र २१ गते भारतसँग प्रतिष्पर्धा गर्ने भएको छ।

सागको लागि नेपाली टिमले लामो समयबाट पोखरामै तयारी गरेको छ। मैदानको निर्माण ढिला सकिदा नेपाली टिमले खेल हुने स्थलमा धेरै तयारी गर्न पाएँन्। नयाँ मैदानमा थोरै समय मात्रै प्रशिक्षण गरेको कारण खेलाडीलाई केही असहज हुने अनुमान गरिएको छ। सहभागी राष्ट्र थोरै र मैदानको अवस्थाका कारण पनि प्रत्येक खेलपछि १ दिन खेल रोकिएको छ।

राउन्ड रोबिन लिगबाट शीर्षस्थानमा उक्लिने २ टिम मंसिर २३ गते फाइनलमा भिड्ने छन्।

प्रकाशित मिति: : 2019-12-03 07:18:54

प्रतिकृया दिनुहोस्