प्रधानमन्त्रीलाई अमेरिका लैजाने तयारी, मिर्गौला भान्जाले दिँदै

फाइल तस्बिर: बिएल

प्रधानमन्त्री केपी ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ। एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेको छ।

प्रधानमन्त्री ओलीले पनि आईसीयूबाटै भिडियो सन्देश पठाउँदै आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए। स्वास्थ्य बिग्रंदै गएको भ्रम चिर्दै सोमबार साँझ भिडियो सन्देश प्रवाह गरेका प्रधानमन्त्रीले डिस्चार्ज पनि ‘सरप्राइज’ ढंगले हुने जानकारी दिए।

तर,अस्पतालबाट डिस्चार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजान चिकित्सक र नेकपा शीर्ष नेताबीच छुट्टाछुट्टै छलफल भएको छ। नेकपाका एक सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए। ‘अमेरिका नै लैजाने कि अमेरिकी चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ’, उनले भने।’

केही साताअघि प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाह अमेरिकाबाट फर्केकी थिइन्। वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत शाहले निजी कार्यक्रमका लागि अमेरिका गएको बताए पनि उनले त्यहाँ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे विज्ञ चिकित्सकसँग छलफल गरेको बताइएको छ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार पारिएका नातेदार हाल अमेरिकामै छन्। नातामा भान्जा पर्ने व्यक्ति प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन तयार रहेको बताइएको छ।

ओलीले पुनः प्रत्यारोपण अमेरिकामै गर्न चाहेका छन्। ओलीलाई स्वास्थ्य उपचारका लागि विदेश लैजाने तयारी भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमण धकेलिएको छ। उनी २४ मंसिरमा पार्टी नेताहरुको नेतृत्व गर्दै चीन जाने तयारीमा थिए।

प्रधानमन्त्री ओलीको उपचारको व्यवस्थापनकै लागि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की पनि काठमाडौंमै छन्। काठमाडौं बोलाइएपछि उनी तीन दिनअगाडि स्वदेश आएका हुन्। प्रधानमन्त्री ओलीका शुक्रबार गरिने स्वास्थ्य परिक्षणको विवरण हेरेपछि यससम्बन्धी निर्णय गरिने स्रोतले जनाएको छ।

०६४ सालमा प्रधानमन्त्री ओलीले भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए।

 

प्रकाशित मिति: : 2019-12-03 07:07:49

प्रतिकृया दिनुहोस्