नेपाललाई तेक्वान्दोमा अर्को स्वर्ण,पदक संख्या १०

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालले अर्काे स्वर्ण पदक जितेको छ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा सोमबार भएको २३ वर्षमाथि महिला टिम पुम्सेमा निता गुरुङ, शुसिला राई र प्रसंसा क्षेत्री रहेको टिमले स्वर्ण जितेका हुन्।


योसँगै नेपालले तेक्वान्दोमा ६ स्वर्ण, २ रजत र २ कास्य पदक जितिसकेको छ।

नेपालका लागि आयशा शाक्यले दोहोरो सफलता दिलाएकी छिन्। उनले २९ वर्षमाथि महिला पुम्सेमा पहिलो स्वर्ण र २९ वर्षमाथि जोडीतर्फ संजिव ओझासँग मिलेर दोस्रो स्वर्ण जितिन्। संजीवको भने पहिलो स्वर्ण थियो।

यस्तै, २३ वर्षमुनि महिलातर्फ सिना मादेन लिम्बुले स्वर्ण जितिन्। उनी अस्मिन राउतसँग जोडीको रूपमा उत्रिएको अर्को पुम्से स्पर्धामा कास्यमा रोकिइन।

२९ वर्षमुनि महिलातर्फ अर्को स्पर्धामा पार्वती गुरुङले नेपाललाई अर्को स्वर्णको सफलता दिलाइन। २९ वर्षमुनि पुरुषमा कमल श्रेष्ठले पनि स्वर्ण जिते।

२४ वर्षमुनि पुरुषतर्फको स्पर्धामा कृष्णबहादुर तामाङले रजत जिते। यस्तै, पार्वती र जीतबहादुर बोटेको अर्को जोडीले २९ वर्षमुनिको स्पर्धामा रजतमा चित्त बुझायो। ३० वर्षमाथिको पुरुष स्पर्धामा रेजिन नेपालले कास्य जिते।

प्रकाशित मिति: : 2019-12-02 18:38:19

प्रतिकृया दिनुहोस्