भ्रष्टाचार आरोपमा मलेसियालीका पूर्व प्रधानमन्त्रीकी पत्नी रोसमाह पक्राउ

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुर ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार पक्राउ परेकी छन्।

पक्राउ पर्नु पहिले उनलाई सोलार पावर आयोजनामा उठेका भ्रष्टाचारका प्रश्नहरूबारे अनुसन्धानमा सहजीकरणका लागि सोधपुछ गर्नका लागि भनी बोलाइएको थियो । तर उनलाई पछि त्यहीबाट पक्राउ गरिएको थियो ।

उनलाई बुधबार नै क्वालालम्पुर अदालतमा उपस्थित गराइने मलेसियाको भ्रष्टाचारविरोधी निकायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

रोसमाह तथा उनका पूर्व विशेष सहयोगीलाई गत वर्षको नोभेम्बरमा एक कम्पनीलाई चार करोड ४८ लाख अमेरिकी डलर बराबरको ठेक्का करार गरेबापत १५ प्रतिशत कमिसन मागेको आरोप लगाइएको थियो । रोसमाहलाई उक्त कम्पनीका निर्देशकबाट घुससमेत लिएको आरोप लगाइएको थियो ।

उनका विशेष सहयोगी रिजाल मनसोरमाथि भ्रष्टाचार तथा कमिसन लिएको विभिन्न चार आरोप दर्ता गरिएको थियो।

आरोपित दुवै जनाले आरोप निराधार रहेका जनाउँदै यसको खण्डन गर्दै आएका छन् ।

सोलार पावर आयोजनाबारे आरोप लाग्नु पहिले पूर्व प्रधानमन्त्रीकी पत्नी रोसमाहमाथि १६ लाख अमेरिकी डलर बराबर सम्पत्तीको शुद्धिकरण तथा कर छलीबारेका विभिन्न १७ मुद्दामाथि छानविन गरिसकिएको छ ।

पछिल्लो सोलार प्यानल आयोजनाबारेको आरोपमा उहाँले मलेसियाको पूर्वी राज्य सारावाकमा विभिन्न ३०० विद्यालयमा जोडिएको सौर्य उर्जा विना टेन्डर एक कम्पनीलाई दिएको र यसबाट ठूलो कमिसन लिएको आरोप लगाइएको छ । उक्त टेन्डरका लागि पूर्व प्रधानमन्त्रीसमेतको अनुमति रहेको दावी गरिने गरिएको छ। सत्ताबाट बाहिरिएपछि पूर्व प्रधानमन्त्री नाजिबमाथि भ्रष्टाचारका विभिन्न ४२ वटा मुद्दा दर्ता भएका छन् । उनका मुद्दामाथि गत हप्तादेखि सुनुवाई शुरू भएको छ ।

प्रकाशित मिति: : 2019-04-09 23:40:58

प्रतिकृया दिनुहोस्