इण्डोनेशिया घुम्न जाने जो कोहीको पहिलो रोजाइमा सुन्दर शहर बालीकै नाम अग्रपंक्तिमा आउँछ। वर्षौंदेखि यस शहरले विश्वका करोडौँ मानिसलाई प्रत्येक वर्ष लोभ्याइरहेको छ।
दक्षिणपूर्वी एशियाली मुलुक इण्डोनेशियामा बाली मात्र होइन, जैविक विविधताले भरिएका अरु धेरै बाली विश्वलाई नै मोहित तुल्याउने क्षमताका छन्। झण्डै १७ हजार साना–ठूला द्वीपले बनेको द्विपीय राष्ट्र इण्डोनेशियाका अद्भूत र अनौठा विशेषताले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ। भनिन्छ, मानिसले आजीवन इण्डोनेशियाका द्वीप घुमे पनि सबै विशेषता पत्ता लगाउन हम्मेहम्मे पर्दछ।
हिन्द र प्रशान्त महासागरको बीचमा छरपस्ट यी द्वीपहरु देख्दै अचम्मलाग्दा छन्। कुनै ठूला छन् त कुनै समुद्रको बीचमा एउटा चुच्चेढुङ्गो मात्र ठिङ्ग उभिएको छ। साना–ठूला जहाजहरु यी द्वीपलाई छलेर यताउता गर्दै हिँड्न बाध्य हुन्छन्।
अलि ठूला द्वीपमा भने मानव बस्ती छ। लामो समय पोर्चुगल, बेलायत र फ्रान्सपछि पछिल्लोपटक करीब ३५० वर्ष डच (नेदरल्याण्ड्स) हरुको उपनिवेश रहेको इण्डोनेशियाका यी द्वीपमा बसोबास गर्ने मानिस पनि अनेक धर्म, सम्प्रदाय, भाषा, ३०० भन्दा बढी जाति–जनजाति, आदिवासी र आर्थिक हैसियतमा बाँडिएका छन्। इण्डोनेशिया औपचारिकरूपमा सन् १९४९ मा डचबाट स्वतन्त्र भएको थियो।
करीब २७ करोड जनसङ्ख्या रहेको इण्डोनेशियामा बहुसङ्ख्यक मुस्लिम समुदायका मानिस छन् । यो विश्वकै मुस्लिम समुदाय सबैभन्दा बढी रहेको राष्ट्र हो। तैपनि यस मुलुकलाई ‘विविधतामा एकता’को सूत्रका रुपमा सबैले आत्मसात गरेको पाइन्छ।
विश्वप्रसिद्ध पर्यटकीय नगर बालीझैं पर्यटकको आकर्षण बोकेको अर्को क्षेत्र हो इण्डोनेशियाको सुदूरदक्षिणमा अवस्थित पूर्वी नुसा टेंगारा प्रान्तको फ्लोरेसस्थित लाबुअन बाजो द्वीप। सन् २०१४ को सरकारी तथ्याङ्कअनुसार झण्डै ५० लाख जनसङ्ख्या रहेको फ्लोरेसमा झण्डै ९६ प्रतिशत इसाई धर्मावलम्बीका मानिसको बसोबास छ।
इण्डोनेशियामै सबैभन्दा गरिबीको चपेटामा रहेको यस द्वीपमा सरकारले पछिल्लो समय पर्यटन प्रवद्र्धनका कार्यलाई आक्रामकरूपमा अघि बढाएको छ । उब्जनी खासै नहुने, जताततै स–साना पहाडी थुम्का देखिने र कतैकतै स–साना बस्ती देखिने यो ठाउँ प्राकृतिकरूपमा भने धनी छ ।
बालीको डेन्पसार विमानस्थलबाट करीब ४५ मिनेटको हवाईयात्रामा पुग्न सकिने लाबुअन बाजोमा अन्तर्राष्ट्रिय विमान सेवा पनि सञ्चालन गर्न मिल्ने घरेलु हवाई मैदान छ। यहाँ दैनिक २० भन्दा बढी आन्तरिक उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ। यी उडानहरु इण्डोनेशियाको बाली, सुराबाया र जकार्ताबाट हुने गरेका छन्।
पानीजहाजबाट पनि यहाँ अन्यत्रबाट पर्यटकहरु आउने गरेका छन्। लाबुअन बाजोमा पर्यटकको सङ्ख्या बढेसँगै नयाँ–नयाँ सुविधासम्पन्न होटल, रेष्टुराँ र रिसोर्ट खुल्नुका साथै साना–ठूला डुङ्गा एवं क्रुज व्यवसाय निकै फस्टाउन थालेको छ। लाबुअन बाजोमा पर्यटक पथप्रदर्शकको कार्य गरिरहेका स्थानीयवासी रोड्रिगो गोन्जालेसले यहाँ हरेक वर्ष पर्यटक आगमन बढेसँगै स्थानीयवासीले राम्रो आयआर्जन गर्न थालेको बताए।
बन्जर र सुक्खा ठाउँ भएकाले माछा मारेर जसोतसो दैनिक गुजारा चलाउने यहाँका स्थानीयवासीका लागि अहिले पर्यटनसँग सम्बन्धित कामहरु नै सबैभन्दा राम्रो आयस्रोत बनेको उनको भनाइ छ। पर्यटकहरुका लागि लाबुअन बाजोमा सामुद्रिक दृश्यावलोकन, सूर्योदय र अस्त, डुङ्गा सयर, सामुद्रिक तट(बिच) हरुमा विचरण तथा स्थानीयवासीका परम्परागत नृत्य सदैव नयाँ–नयाँ सम्भावनासहित हाजिर छन्। यतिले मात्र लाबुअन बाजो चिनिन्न।
लाबुअन बाजोको मुख्य बन्दरगाहबाट करीब चार घण्टा क्रुजको यात्रा गरेर पुगिने विश्व सम्पदा सूचीमा सूचीकृत कोमोडो राष्ट्रिय निकुञ्ज यहाँको प्रमुख आकर्षक केन्द्र हो। यहाँ पादर द्वीप, पिन्क बिच, समुद्रभित्र डुबुल्की मारेर देखिने ‘कोरल रिफ’को अद्भूत दृश्य तथा कोमोडो ड्रागन (ठूलो गोहोरो) ले पर्यावरणमा अभिरुचि राख्ने हरेकलाई आनन्दित तुल्याउँछ।