१३ औं साग: नेपालको झण्डा पारसले बोक्ने,ओलम्पिक फ्लेम तेक्वान्दो खेलाडी दीपक विष्टले बाल्ने

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन सत्रमा हुने मार्चपासमा नेपालको झण्डा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बोक्ने भएका छन्।

खेलाडीले खेल जीवनमा प्राप्त गरेको सफलता र देशको शीर उच्च बनाउन पुर्‍याएको योगदानको आधारमा ठूला खेलकुद प्रतियोगितामा देशको नेतृत्व गर्दै झण्डा बोक्न दिइन्छ। यसपटक त्यो अवसर क्रिकेटर पारसलाई प्रदान गरिनेछ।

पारसकै कप्तानीमा नेपालले सन् २०१४ को टी–२० विश्वकप क्रिकेट खेलेको थियो। उनकै कप्तानीमा नेपालले डिभिजन पाँच हुँदै एकदिवसीय राष्ट्रको मान्यता पाएको हो। पारसले एक महिना अघि मात्र कप्तान पदबाट राजीनामा दिएका थिए।

यसैगरी सागको ओलम्पिक फ्लेम बाल्ने अवसर कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टलाई दिइने बताइएको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले दीपकको नाम समारोह समितिमा पठाएको जनाएको छ। दीपक सागमा सर्वाधिक चार स्वर्ण विजेता खेलाडी हुन्।

सागको उद्घाटन आइतबार अपरान्ह ५ः०० बजे दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्। सागको उद्घाटन सत्रमा १५ हजार कलाकारले संघीय नेपालको सातवटै प्रदेशको कला र संस्कृति झल्कने प्रस्तुति दिनेछन्।

 

प्रकाशित मिति: : 2019-11-29 11:29:17

प्रतिकृया दिनुहोस्