प्रधानमन्त्री अस्पताल भर्ना भएपछि अर्थमन्त्रीले साग खेल्ने खेलाडीलाई सम्बोधन गर्ने

फाइल तस्बिर: बिएल

प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएपछि अर्थमन्त्री युवराज खतिवडाले मंगलबार १३औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने खेलाडीलाई सम्बोधन गर्ने भएका छन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे खेलाडीहरुलाई सम्बोधन गर्दै विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम थियो। सम्बोधनमा प्रधानमन्त्रीले खेलाडीलाई शुभकामना दिने भएपनि के कस्तो प्याकेज घोषणा गर्न लागिएको भन्ने बारे भने केही खुलाइएको छैन। पदक जित्ने खेलाडीलाई राष्ट्रले गर्ने सम्मान तथा प्रोत्साहनबारे सुनिश्चित पार्ने प्याकेज घोषणा गर्ने कार्यक्रम रहेको थियो।

तर, प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएपछि महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बिहान ९ बजेतिर पुर्‍याइएको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि साग खेल्ने खेलाडीलाई अर्थमन्त्री खतिवडाले सम्बोधन गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनाले बताए।

प्रधानमन्त्रीको सम्बोधनका लागि पोखरा तथा जनकपुर लगायतका ठाँउमा अभ्यासरत खेलाडी समेत काठमाडौं आएका छन्। प्रधानमन्त्री ओलीको सम्बोधनका लागि पोखरामा प्रशिक्षणमा रहेको महिला फुटबल र बीच भलिवल टोली पनि सोमबार साझ नै काठमाडौं आइपुगेको छ।

प्रकाशित मिति: : 2019-11-26 12:25:40

प्रतिकृया दिनुहोस्