गढीमाईमा ड्रोनको सुरक्षा,दर्शनार्थीलाई राख्न विद्यालय १० दिन बिदा

बिएल

बाराको बरियारपुरस्थित गढीमाई मेलाको चहलपहल सुरु भएसँगै तयारी तीव्र पारिएको छ। एक सातायता दैनिक हजारौं जनाले गढीमाई दर्शन गरिरहेका छन्।

मेलामा नेपाल भारत लगायत तेश्रो मुलुकबाट ७० लाख दर्शनार्थी आउने अनुमान गरीएको छ। गढीमाई मन्दिरका पुजारी मंगल चौधरीका अनुसार मंसिर १७ गते पंचबली तथा राँगाको बलि दिइने र १८ गते बोका तथा अन्य बलि दिइने छ।

जिल्लाका प्रहरी प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरका अनुसार यसपालि मेलाको सुरक्षा ड्रोनमार्फत गरिनेछ । हेलिप्याड, ७० वटा सिसी क्यामरा जडान, चक्रीय सुरक्षा घेरा, प्रहरी सहायता कक्ष, दुईवटा एयर एम्बुलेन्स र आठवटा स्थलगत एम्बुलेन्स व्यवस्था गरिएको छ । झन्डै १ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिनेछन् ।

पार्किङ व्यवस्थापनाका लागि मेलास्थलबाहिर पाँच दर्जनभन्दा बढी स्थानमा ट्राफिक खटाइँदै छन्। नेपाल-भारत लगायत तेश्रो मुलुकबाट मेला भर्न आउने लाखौं दर्शनार्थीलाई ध्यानमा राखि सुरक्षा तयारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताए। 

उनले ऊर्जा मन्त्रालयसँग मिलेर ५ करोडको विद्युतीकरण भई बिजुलीका लागि ९ वटा ट्रान्सफरमर जडान गरी ५ सय पोलहरुमा तार समेत बाँधी सकिएको  बताए। त्यस्तै दर्शनार्थीलाई आगो ताप्ने दाउरा तयार राखिएको छ। उनीहरूलाई बसाउन महागढीमाई नगर क्षेत्रभित्र पर्ने दर्जन भन्दा बढी विद्यालयमा १० दिनका लागि बिदा दिइएको छ।

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवका अनुसार दर्शनार्थीको सुविधाका लागि ५ सय चर्पी, ३ सय चापाकल बनाइएको छ।मनोरञ्जन, जग्गा बिक्रीलगायत ठेक्काबाट आएको झन्डै साढे दुई करोडबाट मेलाको तयारी भइरहेको उनले बताए।

मेलामा एम्बुलेन्स, स्वास्थ्य शिविर, मनोरञ्जनको लागी विभिन्न खेल तमासा,झुला,बैष्णव देवी तथा गुफाको आकर्षण समेत निर्माण गरिएको र नास्ता घर, होटेल, व्यपार गर्नेहरुले आफ्नो स्टल लगाइ सकेको मेला उनले जानकारी दिए।

 

प्रकाशित मिति: : 2019-11-26 07:41:11

प्रतिकृया दिनुहोस्