उपनिर्वाचन आउन ५ दिनमात्रै बाँकी छ । मत खसाल्ने दिन नजिकिँदै जाँदा उमेदवारहरूलाई भ्याइनभ्याइ छ । पार्टीका शीर्षस्थ नेताहरूलाई पनि उत्तिकै चटारो छ । घरदैलो– कोणसभामा भ्याइनभ्याइ छ । सरकारको मध्यावधि समीक्षा भएकाले रिक्त स्थानबाहेकका मतदातालाई पनि उपनिर्वाचनको चासो छ । तर उत्तरपूर्वी भक्तपुरको दृष्य भने अलि फरक छ ।
प्रदेशसभाको निर्वाचन हुने कमलविनायकदेखि मास्तिरको क्षेत्रमा चुनावको चहलपहल खासै छैन । मतदाताहरू चोक–चौतारामा होइन बरु खेत–बारीमा छन् । चुनावभन्दा मङ्सिरकै चटारो छ त्यहाँ । मुख्य राजनीतिक दलले निर्वाचन लक्षित कार्यक्रम र घरदैलोमा पार्टीका प्रतिनिधि र मझौला तहका नेता खटाइरहेका बेला साझा पार्टीका संयोजक रवीन्द्र मिश्र आफैं मैदानमा खटिएका छन् ।