शारीरिक रुपले मानिस अशक्त भए पनि उसका चाहना र इच्छा जिउँदा हुन्छन्। फरक यति हो, हामीले त्यसलाई कसरी विश्लेषण गर्छौं वा बुझ्छौं र ग्रहण गर्छौं।
मानिस जन्मिदा स्वभावसँगै विभिन्न गुण लिएर आएको हुन्छ। मानिस अपाङ्ग होस् या साङ्ग, हरेकमा एउटा न एउटा गुण रहेको हुन्छ। यति मात्र हो कसैले चिन्न सक्छन्,कसैले सक्दैनन्।
अब विषयवस्तु तिर लागौं।
जुडो क्रिकेट जस्ता खेल मात्र नभएर टेबलटेनिस जस्ता खेल पनि अपाङ्गता भएका व्यक्तिले खेल्ने गर्दछन्। दृष्टिविहीनले पनि सजिलैसँग खेल्न मिल्ने मनोरञ्जनात्मक टेबलटेनिस खेलका प्रशिक्षक हुन,कुमार पौडेल। यिनले दृष्टिविहीनलाई टेबलटेनिसको प्रशिक्षण दिनुका साथै खेलाउने पनि गर्दछन्।
पश्चिमी मुलुकमा कुनै पनि काम आँखाले नदेख्नेले गर्न हुँदैन भनेर छुट्टाएको हुदैन। तर हामी यहाँ चिटिक्क बनेर बाहिर कतै निस्कियौं भने पनि 'तिमी यति राम्रो गरि नुहाउन पनि सक्छौ र?' भनेर प्रश्नको झटाराे हान्न छाेड्दैनन्। यस्तो सुन्दा हाँसो उठेर आउँछ। भन्नेहरुप्रति दया लागेर आउँछ।
कुमार बिएल नेपाली सेवासँग ब्लाइन्ड टेबलटेनिस खेलको परिचय दिँदै भन्छन्,'यो खेल बसेर पनि खेल्न सकिन्छ। शारीरिकरुपले अपाङ्गता भएका व्यक्ति पनि यसमा भाग लिन सक्छन्। दृष्टिविहीनका लागि श्रवण बढाउने क्षमतामा झन् टेबलटेनिसले अहम भूमिका खेलिरहेको हुन्छ।'
काठमाडौंमा मात्र नभएर रुपन्देही, पाल्पा, नवलपरासी लगायत जिल्लामा बस्ने दृष्टविहीनको पहुँचमा यो खेल पुगिसकेको छ। ब्लाइन्ड टेबलटेनिसमा दुई जना दृष्टिविहीनलाई खेल्नका लागि तयार गराइन्छ। प्रशिक्षकले सङ्केत गरिसकेपछि एकजनाले बललाई फाल्ने र ब्याट लिएका खेलाडीले उक्त बलको आवाज सुनेर हान्ने गर्दछन्। अलिअलि आँखाले देख्न सक्नेलाई भने आँखामा पट्टि बाँधेर खेलाइने गरिन्छ।
२०५२ सालमा पारा ओलम्पिकका संस्थापक अध्यक्ष युवराज खाती जापान गएका थिए, खेलकुद तालिमका लागि। आयोजक जापानले कुन खेलको बारेमा जानकारी लिन मन लाग्छ भनेर खातीलाई सोधे छन्। उनले ब्लाइन्ड टेबलटेनिस भनेर उत्तर दिए। आयोजकले त्यसैको विषयमा उनलाई जानकारी गराए। त्यसपछि उनले नेपाल फर्किएर ब्लाइन्ड टेबलटेनिसको सुरुवात गरे। पछि कुमार पौडेलले पनि खातीबाट सो खेलको जानकारी लिए। र उनीबाटै प्रशिक्षित भए।
२०६० सालमा ब्लाइन्ड टेबलटेनिस नेपाली दृष्टिविहीनमा परीक्षण भयाे। अहिले यो खेलले गति लिइसकेकाे छ। पौडेल भन्छन्,'सुरुवातमा निकै गाह्रो भयाे। दृष्टिविहीनलाई यो खेलको बारेमा बुझाउन समस्या थियो। बल बनाउनमा पनि सकस पर्थ्याे।'
कुमारले हरेक परिस्थितिसँग जुधेका छन्। टेबलटेनिसमा राम्रो भविष्य भएको भन्दै उनी सरकारलाई थप सहयोग गरिदिन् अपिल गर्छन्। हाल उनी ब्लाइन्ड टेबलटेनिस संघका महासचिव पनि हुन्।
उनले २०६९ सालमा उदयपुरको जनता माविबाट एसएलसी दिएका थिए। उनको जन्म घर उदयपुर हो। हाल उनी श्रीमती, छोरी र भाइबुहारीसँगै काठमाडौंको चावहीलमा बसाेबास गर्दै आइरहेका छन्। मध्यमवर्गीय परिवारमा जन्मेका कुमारका बुबा नेपाल आर्मीका अवकाश प्राप्त सिपाही हुन्। कुमारले त्रिभुवन विश्वविद्यालयबाट स्नातकाेत्तर गरेका छन्। उनी प्रशिक्षक, खेलाडी मात्र नभएर गायक पनि हुन्।
तबला विषयमा भारतकाे प्रयाग संगीत विधालय–इलाहावादबाट २०६८ सालमा उनले डिप्लोमा गरेका थिए। सिङ्गो देशमा बाँच्न पाउ, कता नाता जोड्ने लगायत गीतमा आवाज दिएका छन्। उनले सानैदेखिको रुचि सङ्गीत र स्पोर्टस रहेको बिएल नेपालीलाई बताए।
यति बेला कुमार दङ्ग छन्। खेलकुदसँगै गायनमा पनि सहभागी हुँदा उनलाई रमाइलो लागिरहेको छ। उनी भन्छन्,'आफ्नो चाहनालाई कहिल्यै मार्नु हुँदैन।' सानैबाट परिवारको सहयोग पाएका उनी २०७५ सालमा टेबलटेनिस खेलका लागि जापानमा थप अध्ययन गर्न गएका थिए।
अविभावकलाई आफ्नो छोराछोरीलाई खेलकूदका कार्यक्रममा सहभागी गराउन उनी आग्रह गरिरहन्छन्।
हाल नेपालमा टेबलटेनिस खेल्ने दृष्टिविहीन खेलाडीको सङ्ख्या पाँच सय नाघिँसकेकाे छ। टेबलटेनिस खेल्ने बलमा आवाज आउँछ। यो बल गुडाएर फाल्नु पर्ने हुन्छ। दृष्टिविहीन उक्त आवाज सुनेर ब्याटले हान्ने गर्दछन्।
उनी डिसेम्बरमा थप तालिमका लागि कोरिया जादैछन्। 'हामीले खेल्ने सम्पृर्ण खेल अझ नेपालका सबै दृष्टिविहीनको पहुँचमा पुगिसकेको छैन। त्यसैले सबैको पहुँचमा पुर्याउनका लागि नेपाल सरकारले पनि सघाउनु पर्छ,' उनले दु:खेसो पोखे,'हामीले खेल्ने कतिपय खेल सायद सरकारलाई थाहै छैन होला। यो बडो दु:ख लाग्दो कुरा हो।'