लेगानेविरुद्ध बार्सिलोनाकाे कम ब्याक जित

फाइल तस्बिर

स्पेनिस ला लिगा अन्तरगत साविक विजेता बार्सिलोनाले कम ब्याक जित हात पारेको छ ।

शनिबार भएको खेलमा लेगानेलाई १–२ गोल अन्तरको हराउदै बार्सिलोनाले जित हात पारेको हो।

लेगानेको घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेज र अरटुरो भिडालले एक एक गोल गरे। यता लेगानेको लागि एक मात्रै गोल युसुफ इन–नेसरीले गरे।

लेगानेसका लागि खेल सुरु भएको १२ औं मिनेटमै नेसरीले शानदार गोल गर्दै अग्रता दिलाए। उनले रोक्यु मेसाले दिएको पासमा बल बक्स लाइनमा पुर्याएर बार्सिलोनाका २ जना डिफेन्डरलाई छलाएर हानेको बुलेट प्रहारले सोझै जाली चुमेको थियो।

उनकै गोल मार्फत पहिलो हाफ लेगानेसले १–० को अग्रता लिएपनि दोस्रो हाफमा बार्सिलोनालाई रोक्न सकेन।

बार्सिलोनाका लागि स्वारेजले खेलको ५३ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। स्वारेजले कप्तान लिओनल मेसीले फ्रि किकबाट दिएको पासलाई हेड मार्फत जाली चुमाए।

यस्तै भिडालले खेलको ७९ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर बनाए।

जितसँगै लिग लिडर बार्सिलोनाले १३ खेलबाट २८ अंक जोडेको छ। लेगानेस ६ अंक जोडेर पुछारमा रहेको छ।

प्रकाशित मिति: : 2019-11-23 19:38:42

प्रतिकृया दिनुहोस्