लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा तत्काल सुरक्षा चौकी स्थापनाको माग

फाइल तस्बिर

नागरिक समाजका अगुवाले लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा तत्काल सुरक्षा चौकी स्थापनाको माग गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुले राज्यको तत्काल उपस्थिति प्रष्ट देखिने गरी सरकारलाई सुरक्षा चौकी स्थापनाका लागि तत्काल कदम चाल्न आग्रह गरेका हुन्।

कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले कालापानी नेपालको भूभाग रहेको सबै ऐतिहासिक प्रमाण सुरक्षित रहेको दाबी गरे। उनले २०१८ सालमा आफै त्यस क्षेत्रमा पुगेर जनगणना गरेको भन्दै लिम्पियाधुरादेखि कालापानी र लिपुलेक सम्मको क्षेत्रबाट भारतीय सेना फिर्ता गराउन तत्काल कुटनीतिक पहल गर्न सरकारलाई आग्रह समेत गरे।

पूर्व सचिव डा. द्धारिकानाथ ढुंगेलले जलाधार, नक्शा र ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिम्पियाधुरा नै काली नदीको मुहान रहेको र नेपालको पश्चिमी सीमा लिम्पियाधुरासम्म रहेको बताए। भूगोलविद् प्राध्यापक डा. नरेन्द्रराज खनालले १८५६ भन्दा अगाडिका सबै नक्शाहरुमा लिम्पियाधुराबाट आउने नदीलाई नै महाकाली नदी देखाइएकाले त्यही नक्शाका आधारमा सरकारले भारतसँग सप्रमाण वार्ता अगाडि बढाउनुपर्ने बताए।

कार्यक्रममा नागरिक समाजका २६ जना अगुवाहरुले सीमा रक्षार्थ सजग र सचेत रहन भन्दै १० बुँदे सार्वजनिक आव्हान समेत गरेका छन्। नेपालको भूमि अतिक्रमित भएको भन्दै भारत सरकारका तर्फबाट प्रस्तुत नक्साको कारणबाट उत्पन्न समस्या समाधान नहुन्जेल आम नेपाली जनतालाई एकतावद्ध भई समस्या समाधान गर्न सरकारलाई निरन्तर दवाव दिइरहन समेत आह्वान गरिएकोे छ।

त्यस्तै सरकारलाई भारतसँग वार्ता गर्नका लागि सहायोग पु¥याउन सर्वपक्षीय प्रतिनिधित्व रहेको विज्ञ टोली अविलम्व गठन गर्न माग गरिएको छ।

प्रकाशित मिति: : 2019-11-22 22:30:22

प्रतिकृया दिनुहोस्