तीव्र बजारीकरण भइरहेको गलकोट नगरपालिका–३ हटियामा सिसी क्यामेरा जडान गरिएको छ। वडा कार्यालयले जिपपार्कलगायत बजारका मुख्यचोक र सडकमा सिसी क्यामेरा जडान गरेको हो । वडा कार्यालय परिसर पनि अबदेखि सिसी क्यामेराको निगरानीमा हुनेछ।
वडा र बागलुङ उद्योग वाणिज्य सङ्घ गलकोट एकाइ मिलेर थप १० स्थानमा सिसी क्यामेरा जडान गर्ने भएका छन्। सिसी क्यामेरा राख्नुपर्ने स्थानको पहिचान गरी काम अगाडि बढाइएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए। बढी सवारी चाप हुने मध्यपहाडी लोकमार्ग क्षेत्रमासमेत सिसी क्यामेरा जडान गरिने उनको भनाइ छ
“बजारका १६ स्थानमा सिसी क्यामेरा राख्दैछौँ”, अध्यक्ष भण्डारीले भने। वडा कार्यालयले सिसी क्यामेरा जडानका लागि चालू आवमा रु चार लाख बजेट छुट्याएको थियो। वाणिज्य सङ्घ गलकोट एकाइले पनि सिसी क्यामेरा जडानलाई वार्षिक कार्यक्रममा राखेको थियो। स्तरीय तारसहितका उच्च प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएको जनाइएको छ। रातिमा पनि रङ्गीन दृश्य कैद हुने खालका क्यामेरा राखिएका वडाध्यक्ष भण्डारीले बताए।
हटियालगायत आसपासका बजार क्षेत्रलाई प्रविधिमैत्री बनाउने नगरपालिकाको योजना छ। हटिया गलकोटकै ठूलो बजार हो। मध्यपहाडी लोकमार्गले छोएपछि गलकोट क्षेत्रमा बजारीकरण बढेको छ। सो नगरपालिकाको केन्द्र पनि हटिया बजारदेखि नजिकैको मजुवाफाँटमा छ। सिसी क्यामेराले सुरक्षा निगरानीसँगै सामाजिक विकृति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ। वडा कार्यालयले चलाएको विकृतिविरुद्धको सामाजिक अभियानलाई पनि सिसी क्यामेराले सघाउनेछ। वडाका अन्य सार्वजनिकस्थलमा पनि सिसी क्यामेरा राख्ने योजना छ।