अब ११ र १२ मा ६–६ विषय पढाइने, १५ विषयको पाठ्यक्रम पारित, ४० विषयको पारित गर्ने तयारी, कक्षा १ को पाठ्यक्रम १०३ विद्यालयमा परीक्षण
सरकारले आगामी शैक्षिक सत्रमा कक्षा १ र ११ बाट नयाँ पाठ्यक्रम सुरु गर्ने भएको छ । पाठ्यक्रम विकास केन्द्रले १५ विषयको पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट पारित गरिसकेको छ भने ४० विषयको पाठ्यक्रम तयार गरी पारित गर्न परिषद्मा लैजाँदै छ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेलले आगामी वैशाखबाट कक्षा १ र साउनदेखि कक्षा ११ को पाठ्यक्रम सुरु गर्ने जानकारी दिए । उनले विद्यार्थी संख्या धेरै हुने १५ विषयको पाठ्यक्रम पारित भइसकेको, ४० विषयमा पाठ्यक्रम निर्माण गरी परिषद्बाट पारित गर्ने तयारी भएको बताए ।