ब्रसेल्सस्थित भारतीय दूतावास अगाडि नेपालीको प्रदर्शन

बिएल

बेल्जियममा रहेका नेपालीले ब्रसेल्सस्थित भारतीय दूतावास अगाडि सीमा अतिक्रमणको विरोध गरेका छन्।

उनीहरूले दूतावास अगाडि सोमबार दिउँसो विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा बेल्जियमस्थित नेपाली संघसंस्थाका प्रतिनिधि तथा नेपालीरुको बाक्लो उपस्थिति रहेको थियो ।' प्रदर्शनकारीले हातमा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो', नेपाललाई गरिने हस्तक्षेप बन्द गर ! जस्ता प्लेकार्ड बोकेका थिए।

विरोधका क्रममा उनीहरूले कालापानी, लिपुलेक र लिम्पुयाधारा मात्रै नभई देशका विभिन्न भागमा मिचिएको सीमाा पनि फिर्ता गर्न माग गरेका थिए। 

बेल्जियमका लागि भारतीय राजदूत गायत्री इसार कुमारलाई भेट्ने अनुमति नपाएको र कर्मचारीले पनि बुझ्न अस्वीकार गरेपछि उनीहरुले ज्ञापनपत्र पत्रबक्समा खसाइ दिए। 

केही दिन अगाडि दूतावासलाई एक कर्मचारीले आयोजकलाई प्रदर्शन नगर्न अनुरोध गरेका थिए। उनीहरुले प्रदर्शन नगरे राजदूत गायत्रीलाई ज्ञापनपत्र हस्तान्तरण गर्न दिने बताएको आयोजकमध्येका एक विष्णु भुजेलले बताए।

ज्ञापनपत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै यो समस्या तत्काल समाधान गर्न र सीमा अतिक्रमण लगायत सीमामा हुने भारतीय ज्यादती तत्काल रोक्न आग्रह गरिएको छ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि कालापानी,लिपुलेक र लिम्पियाधुरा भारतीय क्षेत्रभित्र देखिएपछि भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ।

नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत उक्त भूमि नेपालको भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन्। तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ।

 

प्रकाशित मिति: : 2019-11-18 22:29:42

प्रतिकृया दिनुहोस्