सन्दीपको खराब बलिङ, पोलार्डले हाने एकै ओभरमा ३० रन

फाइल तस्बिर

युएईमा जारी टी–१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछा सम्मिलित टिम कर्नाटका टुसकेर्सले लगातार दोस्रो हार व्यहोरेको छ।

सोमबार भएको खेलमा डेकन ग्लाडीयटर्ससँग ५ विकेटले पराजित हुँदै कर्नाटकाले लगातार दोस्रो हार व्यहोरेको हो। आबुधाबीमा कर्नाटकाले दिएको १ सय ११ रनको लक्ष्य ग्लाडीयटर्सले ८ ओभर ३ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो।

ग्लाडीयटर्सका लागि केइरण पोलार्डले अविजित ४५ रन जोड्दा भानुका राजपाक्षले २७ रन जोडे।

कर्नाटकाका शापुर जाड्रनले २ विकेट लिए।

ग्लाडीयटर्सविरुद्ध सन्दीपले २ ओभरमा ३५ रन खर्चिए। तर, विकेट लिन सकेनन्। आफ्नो पहिलो ओभरमा बाउन्ड्री नदिइँ ५ रन दिएका सन्दीपले दोस्रो ओभरमा ३० रन खर्चिएका थिए।

सन्दीपलाई डेकनका केइरन पोलार्डले लगातार ४ छक्का प्रहार गरेका थिए। उनले पाँचौ बलमा चौका प्रहार गर्दा अन्तिम बलमा २ रन लिएका थिए।

अन्तिम बलमा क्याच ड्रप हुँदा सन्दीपको नाममा विकेट हुन सकेन। सन्दीपले पहिलो खेलमा १ र दोस्रो खेलमा २ विकेट लिएका थिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर १ सय १० रन बनाएको थियो।

कर्नाटकाका लागि जोनसन चार्ल्सले सर्वाधिक ३५ रन बनाए।

यस्तै कप्तान हसिम अल्मलाले अविजित ३२, एभिन लुइसले २३, रोस व्हाइट्लीले १३ रन बनाए।

ग्लाडीयटर्सका जाहिर खान, फवाद अहमेद र मिगेल प्रेटोरिएसले समान १/१ विकेट हात पारे।

यो हारसँगै समूह एको कर्नाटकाले ३ खेलमा २ अंक जोडेको छ।

प्रकाशित मिति: : 2019-11-18 20:15:02

प्रतिकृया दिनुहोस्