मन्त्रिमण्डल पुनर्गठन: खुमलटारमा प्रचण्ड र माधव नेपालबीच छलफल

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेसँगै सत्तारुढ दल नेकपाका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।

आइतबार बसेको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेरका लागि प्रधानन्त्री ओलीलाई सहमति दिएसँगै सामबार नै मन्त्रिमण्डल हेरफेरको तयारी रहेको बालुवाटार निकट श्रोतको भनाइ छ।

प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा नेताहरुले छलफल गरेका छन्।

‘मन्त्रिमण्डल हेरफेरका विषयमा कुराकानी भएको थियो तर कुनै निष्कर्ष भने निस्कने गरि छलफल भएको होइन सामान्य छलफल मात्र हो’ स्रोतले भन्यो।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ मन्त्रीहरुको विषयमा आफू निकट नेताहरुसँग अनौपचारिक छलफल गरेका छन्।

प्रधानमन्त्री केपी ओलीले आजै प्रचण्डसँग थप कुराकानी गरेर मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेको स्रोतको दाबी रहेको छ। प्रचण्डले मन्त्रिहरु हेरफेर गर्ने विषयमा सहमति जनाइसकेका छन्।

स्रोतका अनुसार २५ सदस्यीय मन्त्रिपरिषद्बाट कम्तीमा सातदेखि १० जना मन्त्री फेर्ने गरी गृहकार्य चलिरहेको छ।

कामको आधारमा मूल्यांकन गर्दा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बास्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुन तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले पुनर्गठित मन्त्रिपरिषदमा पनि स्थान पाउने देखिएको छ।

ऊर्जामन्त्री वर्षमान पुनको मन्त्रालय फेरिन सक्ने सम्भावना रहेको छ भने गृह मन्त्रालयमा पनि नयाँ अनुहार आउने स्थिति देखिएको छ।

दुई वर्षे कार्यकाल सन्तोषजनक ढंगले अघि वढाउन नसकेका नेकपाबाट निर्वाचित मुख्यमन्त्री पनि हटाउने सम्भावना रहेको स्रोतले जनाएको छ।

नयाँ मन्त्रीका रूपमा पूर्वएमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले र यज्ञराज सुनुवारको नाम अगाडि सारिएको छ।

यस्तै तथा पूर्वमाओवादी समूहबाट जनार्दन शर्मा, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु साहलगायतको नाममा छलफल चलिरहेको छ।

‘त्रिशुली थ्रि ए’ को सिंहदरबारबाट औपचारिक रुपमा उद्घाटन गरेपछि ओलीले अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्ने तयारी भएको छ।

मन्त्रीहरुको कार्यसम्पादन राम्रो नभएको भन्दै प्रधानमन्त्री ओलीले केही समयपहिला देखिनै मन्त्रिमण्डल हेरफेरको तयारी गरेका थिए।

प्रकाशित मिति: : 2019-11-18 12:29:42

प्रतिकृया दिनुहोस्