सोमबार मन्‍त्रिपरिषद्‍ पुनर्गठन: यी हुन् फ्याँकिने र अवसर पाउने सम्भावित मन्त्री

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको सम्पूर्ण अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ।

आइतबार साँझ बसेको सचिवालय बैठकले नयाँ मन्त्री चयनको सम्पूर्ण अधिकार प्रधानमन्त्री ओलीलाई दिए हो। ‘मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ’, बैठकपछि एक सचिवालय सदस्यले भने, ‘मन्त्रीको नाम टुंगो नलागेकाले यसको जिम्मा प्रधानमन्त्रीलाई दिइएको छ’

स्रोतका अनुसार २५ सदस्यीय मन्त्रिपरिषद्बाट कम्तीमा सातदेखि १० जना मन्त्री फेर्ने गरी गृहकार्य चलिरहेको छ।

कामको आधारमा मूल्यांकन गर्दा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बास्काेटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुन तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले पुनर्गठित मन्त्रिपरिषदमा पनि स्थान पाउने देखिएको छ।

ऊर्जामन्त्री वर्षमान पुनको मन्त्रालय फेरिन सक्ने सम्भावना रहेको छ भने गृह मन्त्रालयमा पनि नयाँ अनुहार आउने स्थिति देखिएको छ।

दुई वर्षे कार्यकाल सन्तोषजनक ढंगले अघि वढाउन नसकेका नेकपाबाट निर्वाचित मुख्यमन्त्री पनि हटाउने सम्भावना रहेको स्रोतले जनाएको छ।

नयाँ मन्त्रीका रूपमा पूर्वएमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले र यज्ञराज सुनुवारको नाम अगाडि सारिएको छ।

यस्तै तथा पूर्वमाओवादी समूहबाट जनार्दन शर्मा, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु साहलगायतको नाममा छलफल चलिरहेको छ।

स्रोतका अनुसार हटाउने मन्त्रीको नाम र नयाँ मन्त्रीको नाम सोमबार बिहानसम्ममा टुंगो लाग्नेछ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने यो विषयमा छलफल नै नभएको बताएका छन्।

प्रकाशित मिति: : 2019-11-17 20:29:01

प्रतिकृया दिनुहोस्