एसिया कप: नेपालसँग हङकङ पराजित

फाइल तस्बिर

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले हङकङलाई पराजित गरेको छ ।हङकङलाई ४० रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।

शनिवार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय १७ रन बनायो। जितको लागि २ सय १८ रनको लक्ष्य पछ्छाएको हङकङ ४५‍‌.५ ओभरमा १० विकेट गुमाउदै १७७ रनमा समेटियो।

हङकङका लागि किन्चिट शाहले अर्धशतकीय इनिङ्स खेले। उनले ३ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाए। यस्तै  एहसान नवाजले ४० तथा हरोन महमद अर्सादले २६ रनको योगदान दिए ।

नेपालका लागि करण केसी र अभिनाश बोहराले समान ३/३ विकेट लिए। यस्तै सुशान भारीले २ विकेट लिए।

यसअधि ढाकामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय १७ रन बनायो।

पहिलो ओभरको दोस्रो बलमा नै कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए। तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा नेपालको स्कोर ३ रन मात्रै थियो। कुशलले बिहीबार भारतविरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका थिए । कप्तान ज्ञानेन्द्र भने भारतविरुद्ध पनि पहिलो ओभरको दोस्रो बलमा शून्य रनमै आउट भएका थिए।

नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ८९ रनको योगदान गरे । १३९ बलको सामना गरेका उनले ९ चौका प्रहार गरे । मोहमद आसिफ शेखले ४२ रन, उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७ रन, विनोद भण्डारीले १५ रन बनाए ।

अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

हङकङका मोहमद अजिज खानले ३ विकेट लिए । यस्तै नस्रुलाह राना र एहसान नवाजले २/२ लिए।

पहिलो खेलमा भारतको यू–२३ टोलीसँग ७ विकेटको हार व्यहोरेको थियाे।

प्रकाशित मिति: : 2019-11-16 16:16:46

प्रतिकृया दिनुहोस्