शान्ति, सुशासान र स्थिरताको पक्षमा मतदान गराैँ: नेता नेपाल

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शान्ति, सुशासन र स्थिरताको पक्षमा मतदान गर्न मतदातालाई अपिल गरेका छन् । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीका लागि पार्टीद्वारा यहाँका बलवा, मटिहानी र पिपरा गाउँपालिकामा आयोजित कार्यक्रममा उनले जनताको मुख्य चासो र चाहना भ्रष्टाचारमुक्त जनमुखी प्रशासन रहेको औँल्याए ।

“ठूला कुरा नगरौँ, अहिले जनताले खोजेको र चाहेको मुख्य कुरा नै स्वच्छ प्रशासन हो”, नेता नेपालले भने, “मतदाताले यि माग सम्बोधन गर्नसक्ने दललाई मतदान गर्नुपर्छ ।” मुलुकमा स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको स्पष्ट पार्दै उनले स्थिर सरकार दिनसक्ने दल जनताले ठम्याउनु पर्ने उल्लेख गरे । पिपराको अध्यक्ष, बलेवा–२ र ८ तथा मटिहानी–६ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रिय अखण्डता र सीमा सुरक्षाका कुरामा जनताको चासो बढेको उल्लेख गरे । सरकारले जनचासोका विषयबारे स्पष्ट अडानसाथ मित्रराष्ट्रसँग कुटनीतिक पहल गरी समस्याको निदान खोज्नु पर्ने बताए ।

प्रकाशित मिति: : 2019-11-15 21:49:47

प्रतिकृया दिनुहोस्