'मृत्यु हल्ला हो, लता दिदी स्वस्थ हुनुहुन्छ'

फाइल तस्बिर

चर्चित भारतीय गायिका लता मंगशेकरको मृत्युको हल्ला चलेपछि उनको परिवारले त्यसको खण्डन गरेका छन् ।

बिहिबार लताका परिवारले प्रेस विज्ञप्ति जारी गर्दै उनको मृत्युको खण्डन गरेको हो । विज्ञप्तिमा लताको स्वास्थ्यमा उल्लेख्य सुधार आएकाे बताइएको छ ।

‘लता दिदी स्वस्थ हुनुहुन्छ । उहाँको स्वास्थ्यमा राम्रो सुधार भएको छ । हामीले उहाँलाई घर ल्याएका छौं । उहाँप्रति सहानुभूति र स्वास्थयलाभ गर्नेहरु सबैलाई धन्यवाद छ,’विज्ञप्तिमा भनिएको छ ।

९० वर्षीया लतालाई निमोनिया र फोक्सोमा इन्फेक्सन देखिएकोले आइतबार राती मुम्बईको ब्रिज केन्डी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई सास लिन अप्ठ्यारो भएपछि सोमवार आईसीयूमा भर्ना गरिएको थियो ।

डेढ महिनाअघि मात्रै ९० औं जन्मदिन मनाएकी लताले १३ वर्षको उमेरदेखि निरन्तर गाउँदै आएकी छन् । हजारौं गीत रेकर्ड गराइसकेकी लताले सुरुवातमा अभिनय पनि गरेकी थिइन् । बुबा पण्डित दीनानाथबाटै संगीतको पहिलो शिक्षा लिएकी लताले पाँच वर्षकै उमेरमा बुबाको एक मराठी सांगीतिक नाटकमा नायिकाको भूमिका निर्वाह गरेकी थिइन् । लताले पहिलो पटक मराठी फिल्म ‘किती हसल’ मा गाएकी थिइन्, तर पछि फिल्मको अन्तिम सम्पादनमा उक्त गीत नै हटाइएको थियो ।

सन् १९४५ मा मुम्बई आएपछि लताले उस्ताद अमनअली खानसँग हिन्दुस्तानी क्लासिकल म्युजिकको शिक्षा लिइन् । संगीतकार वसन्त देसाईकै संगीत संयोजनमा लताले पहिलो पटक फिल्म ‘आप की सेवा मैं’ मा गाउन पाएकी थिइन् । सांगीतिक क्षेत्रमा भने उनका मेन्टर गुलाम हैदर हुन् । हैदरले नै बलिउडका फिल्म निर्मातासँग चिनाउनुका साथै गवाउने काम पनि गरेका थिए ।

हैदरले नै एकपटक निर्माता सशाधर मुखर्जी कहाँ फिल्म ‘सहीद’ मा गवाउन लगेका थिए । तर मुखर्जीले १९ वर्षीया लताको स्वर निकै पातलो भनेर फर्काएका थिए । हैदरले भने लताको गायन क्षमतामा विश्वास गुमाएनन् । हैदरले नै लतालाई ‘मजबुर’ फिल्मका लागि ‘दिल मेरा तोडा।।।’ मा महत्त्वपूर्ण ब्रेक दिलाए । त्यसताक उक्त फिल्म त हिट भयो नै, लताको करिअरका लागि पनि ब्रेकथ्रु बनिदियो । आफ्नो ८४ औं जन्मदिनमा दिएको एक अन्तरवार्तामा समेत लताले गुलाम हैदरलाई आफ्नो गडफादर भनेकी थिइन् । सुरुवाती दिनमा लतालाई त्यसताककी चर्चित गायिका नूर जहाँको नक्कल गर्ने आरोप लागेको थियो । तर पछि लताले गायनमा आफ्नै शैली विकास गरिन् । सन् १९७४ मा द गिनिज बुक अफ रेकर्डस्ले लतालाई सन् १९४८ देखि १९७४ भित्र २० भारतीय भाषाहरूमा इतिहासमै सर्वाधिक २५ हजारभन्दा बढी गीत रेकर्ड गराएको उल्लेख गरेको थियो । पछि उक्त रेकर्डमा अर्का गायक मोहम्मद रफीले आफूले २८ हजारभन्दा बढी गीत गाएको दाबीसहित विरोध जनाए ।

सन् १९९१ को संस्करणमा गिनिज बुकबाट उक्त रेकर्डमा धेरै विवाद आएपछि लताको नाम बिनासूचना हट्यो । सन् २०११ मा आएर गिनिजले सर्वाधिक गीत रेकर्डमा सूचीमा लताकै बहिनी आशा भोसलेलाई ११ हजारभन्दा बढी गीत रेकर्ड गराएको भन्दै राख्यो ।

लतालाई सन् १९६२ मा अज्ञात व्यक्तिले मार्ने उद्देश्यले स्लो–पोइजन दिएको थियो । तीन दिनसम्म उनी जीवन–मृत्युको दोसाँधमा थिइन् । १० औं दिनमा बल्ल राम्रोसँग होस् आएको थियो । यस घटनामा उनकै भान्से संलग्न भएको हुन सक्ने आशंका तब भयो जब लता अस्पतालबाट आइन्, ऊ बिनासूचना एकाएक गायब भयो । लताले थुप्रै संगीतकारका गीत गाइसकेकी छन् भने अनेकौं गायकसँग युगल गायन पनि दिएकी छन् ।

मुकेश, मन्ना डे, महेन्द्र कपुर, मोहम्मद रफी, किशोरकुमारसँग उनको गायन जोडी खुब जमेको मानिन्थ्यो भने पछिल्ला समय उदितनारायण झा, सोनु निगमसँग पनि फिल्मी गीत गाएकी छन् । मोहम्मद रफीसँग रोयल्टीका सवालमा विवाद आएपछि केही वर्ष एकअर्काले युगल गायनका लागि अस्वीकार गरेका थिए ।

लताले भारतमा दिइने सर्वाधिक गरिमाको जनसम्मान भारत रत्नसहित पद्मभूषण, पद्मविभूषण, दादासाहेब फाल्के अवार्ड पाउनुका साथै तीन राष्ट्रिय नेसनल अवार्ड पाएकी छन् भने उत्कृष्ट गायिकाका लागि चार वटा फिल्मफेयर अवार्डसमेत जितिसकेकी छन् । लताको अस्वस्थताप्रति यतिबेला भारतका प्रतिष्ठित व्यक्तिहरूले स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरिरहेका छन् ।

प्रकाशित मिति: : 2019-11-14 22:32:55

प्रतिकृया दिनुहोस्