चौरजहारीमा नगरबस सञ्चालनमा

फाइल तस्बिर

रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले सोमबारदेखि नगरबस सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका नागरिकलाई सहुलियत यातायातको व्यवस्था दिने योजनासहित नगरबस सञ्चालनमा ल्याइएको हो ।

नगर कार्यपालिकाबाट निर्णय गरेर नगर बस सञ्चालनका लागि करिब ६ महिना अघिदेखि यसको खरिद प्रक्रिया सुरु गरिएको थियो । नगरपालिकाले कूल ९४ लाख १५ हजार रुपैयाँ लागतमा तीनवटा बस खरिद गरेको नगरप्रमुख विशाल शर्माले बताए ।

उनका अनुसार सहुलियत भाडादर कायम गरी नगरपालिकाले २६ र ३२ सिट क्षमताका तीन नगरबस सञ्चालनमा ल्याएको छ । बसका लागि विभिन्न रुटको भाडादर निर्धारण गरिएको र टिकटसमेत अनिवार्य गरिएको नगरप्रमुख शर्माको भनाइ छ ।

नगरपालिकाले नगरबसमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विद्यार्थीलाई भने छुटको व्यवस्था गरेको छ । त्यस्तै पाँच वर्षमुनिका बालबालिका तथा ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । नगरबस सञ्चालन भएसँंगै अबदेखि चौरजहारी बजार उपत्यकाका कुनै पनि स्थानमा यात्रा गर्न प्रतिव्यक्ति रु २० लाग्ने भएको छ ।

चौरजहारी बसपार्कदेखि वडा नं १४ को नुवाकोटसम्मको भाडादर रु २०० तथा बसपार्कदेखि चौफाका लागि रु १०० भाडा निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।

चौरजहारी नगरपालिका नगर बससेवा सञ्चालनमा ल्याउने रुकुम पश्चिमको पहिलो स्थानीय तह बनेको छ । स्थानीय रुटमा चर्को भाडादर तिर्दै आएका नगरबासी सर्वसुलभ भाडादरमा नयाँ गाडी चढ्न पाउने भएपछि खुसी देखिएका छन् ।

 

प्रकाशित मिति: : 2019-11-12 07:28:56

प्रतिकृया दिनुहोस्