विप्लव समूहले ३३ रोपनी जग्गा कब्जा गर्‍यो

बिएल

नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको नेकपाको जनपरिषदले व्यास १२ घाँसीकुवामा जग्गा कब्जामा लिएको घोषणा गरेको छ।

पार्टीले घोषणा गरेको जनपरिषदको व्यास नगर कमिटीले जग्गा लेनदेनको मामिलामा गुमराहमा पारेर गलत व्यक्तिको नाममा राखिएको भन्दै विवाद समाधान नहुँदासम्म जग्गा कब्जामा लिइएको घोषणा गरेको छ।

जनपरिषदका व्यास नगर प्रमुख बताउने दीक्षितले एक विज्ञप्ति जारी गर्दै व्यास १२ घाँसिकुवामा कर्लुङ ८/ङ कित्ता नं १२ को ३३ रोपनी जग्गा १३ वर्ष पहिल्यै स्वर्गीय धनबहादुर मगरको जग्गा उनकी श्रीमतीलाई झुक्याएर राजिनामा पास गरिए पनि मोलिएको रकम एक करोड रुपैयाँ नदिइएको भन्दै पैसा फिर्ता गराउन उक्त जग्गा कब्जामा लिइएको जनाएको छ।

उनले जालसाँजीमार्फत भू–माफियाको चलखेलमा जग्गा १३ वर्ष अघि नै अमरसिंह खातीबाट प्रतापसिं गुरुङ हुँदै हाल धादिङ घर भई पोखरा बस्ने राम नेपालीको नाममा पुर्याएको बताएका छन्।

विज्ञप्तिमा सिधा, सोझा र इमान्दार व्यक्तिलाई षडयन्त्रपूर्ण रुपमा पीडित बनाइएको भन्दै विवादित जग्गा दुई पक्षबीच निर्णायक सहमति नहुँदासम्म किनबेच नगर्न चेतावनी दिइएको छ।

परिषदले सहमतिबीना किनबेच भएमा आउने अवस्थाको जिम्मेवार बन्न समेत सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । परिषदले विवादित भनिएको जग्गामा पार्टीको ब्यानर टाँगेको छ।

प्रकाशित मिति: : 2019-11-11 17:43:18

प्रतिकृया दिनुहोस्