दासोत्पादन
सन् १९३८ मा एलेक्स हक्सलेको एउटा उपन्यास छापिएको थियो– ‘द बे्रभ न्यु वल्र्ड’ । विज्ञानले चरम चामत्कारिक प्रगति गरेको ‘आदर्श राज्य’को कल्पना गरिएको छ, त्यहाँ । यो नवीन जगत्मा एउटा पनि बालबालिका जन्माइँदैन । सेन्ट्रल लन्डन ह्याचरीमा ट्युब र इन्क्युवेटरमा भ्रूण राखेर जम्मा आठ मिनेटको रासायनिक प्रक्रियाबाट वयस्क मानिस नै कोरलिन्छ । यो नवीन जगत्मा एकै किसिमका मानिस भने कोरलिँदैनन् । ह्याचरीमा एकाध ‘अल्फा’ वर्गका मानिस निकालिन्छन् । यी शासक हुन् ।
शारीरिक र मानसिक विकासलाई ध्यान दिँदै आवश्यक हर्मोन दिएर तिनलाई तयार पारिन्छ । यसै प्रकारले निश्चित हर्मोन मिसाउँदै आवश्यक मात्रामा सैनिक, वैज्ञानिक, डाक्टर, इन्जिनियर आदि उत्पादन गरिन्छ । अझ रोचक, त्यहाँ धेरैभन्दा धेरै ‘इप्सिलन’ वर्गका मानिस कोरलिन्छ । ‘इप्सिलन’ दास वर्ग हो । यो वर्गको शारीरिक र मानसिक विकास पनि त्यहीअनुसार गरिएको हुन्छ । यिनको काम भनेकै सत्ताको आज्ञा शिरोपर गर्नु हो । यिनको बौद्धिक चेतना शून्य हुन्छ, राम्रो–नराम्रो, ठीक—बेठीक छुट्याउन सक्दैनन् ।
यो त भयो हक्सलेको स्वैरकाल्पनिक अत्याधुनिक ‘आदर्श राज्य’ । हक्सेलेको राज्यले जस्तो हाम्रो ‘आदर्श राज्य’ले एकाध—दुई ‘अल्फा’ वर्गका शासक निर्माण ग¥यो या गरेन वा अन्य आवश्यक मात्रामा वैज्ञानिक, लेखक, दार्शनिक, कलाकार जन्मायो या जन्माएन ठयाक्कै भन्न सकिन्न, तर यसले आवश्यकताभन्दा अधिक दास भने पैदा गरेको छ । इतिहासदेखि आजसम्म यसले ह्याचरीबाट चल्ला कोरलेजस्तो असंख्य दास कोरलेको–कोरल्यै छ । आवश्यक हर्मोन सकिएर हो या ‘इप्सिलन’ वर्गबाहेक अरू वर्गको आवश्यकता नभएर हो, यसले फगत दास मात्र कोरल्दै आएको छ ।