काठमाडाै : बौद्धिक अपांगता भएकी अछामकी एक बालिका थापाथलीस्थित प्रसूतिगृहमा गर्भपतनपछि स्वास्थ्यलाभ गरिरहेकी छिन्। १२ वर्षिया ती बालिकाको हातमा खैरो कपाल र सेतो कपडामा सजिएको सानो खेलौना छ। उनको साथी नै त्यहि खेलौना हो। एकछिन पनि छोड्दिनन्। खेलौनासँगै कुरा गर्छिन्। घरि काखमा राख्छिन्, घरि आफू बसेकै बेडमा।
उनलाई निकै सकस परेको सजिलै बुझ्न सकिन्छ। अस्पतालमा चिनेजानेका कोही छैनन्। सबै अनौठो लाग्दो हो। न्यास्रो मान्दै घरि झ्यालबाट बाहिर आँखा डुलाउँछिन्। केहि बेर सुत्छिन्, फेरि उठ्छिन्। अस्पतालबाहिर जान दिइएको छैन।
तर अरूले बोलाउँदा भने मुसुक्क हाँस्छिन्। सुस्त मनस्थिती भए पनि दोहोरो कुराकानी गर्न सक्छिन्। नेपाली भने उत्ति साह्रो बुझ्दिनन्। अछामी भाषामा भने फरर बोल्छिन्।
१२ दिनको अस्पतालले उनलाई दिक्क बनाएको छ। गाउँघर र आमाबुवाको सम्झनाले निकै पिरोलेको छ। “जेठा बुवा घर बाइजाउ,” छेवैमा बसेका ठूलोबुवालाई उनी भन्छिन्। हरेक भेटमा ठूलोबुवालाई घर फर्किन उनी यसरी नै अनुरोध गरिरहन्छिन्।